आइतबार, मंसिर ९ गते २०८१

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

मंगलबार, असोज ८ २०८१
  • गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

    गुल्मी । गुल्मीका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुन तेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ ।

    images

    वर्षाताका समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् । 

    गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जङ्गलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्त्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जङ्गलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् । 

    उनीहरूले जङ्गलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको रु ३० देखि ठूला मुठाको रु ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ कीे चन्द्रकली कुमाल बताउँछिन् । “दिनभर जङ्गलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जङ्गलमा जुका लागेर हैरान हुन्छ, जङ्गलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति”, उनले भनिन्।

    चन्द्रकलीमात्र होइन, उनीजस्तै जङ्गलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुगेकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउँछिन् । उनले भने “घर खर्च चलाउन ठुलो राहत पुगेको छ ।” बर्खाको समयमा जङ्गलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उनीहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जङ्गलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् । 

    गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अग्र्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ ।

    निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले रु २० देखि ३० हजारसम्म आम्दानी गर्छन । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन् । आजभोलि कोसेलीका रूपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार