काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारी कार्यालयका कर्मचारीले खाजा खाने समय आधा घण्टा मात्रै पाउने बताएका छन्। आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्।
उनले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएपछी एक घण्टा को समयलाई घटाएर आधा घण्टा बनाइएको बताए ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ।’ प्रधानमन्त्री ओलीले सरकारले निर्धारण गरेको खाजा खाने आधा घण्टाभन्दा बढी समय कसैले लिएको पाइएमा जानकारी गराउन अनुरोध गरेका छन्।

 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    