आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचौँ दिन बुधबार रु १७ लाख दान सङ्कलन भएको छ ।
आँबुखैरेनी–३ मा सञ्चालित महायज्ञमा उक्त दिन रु १७ लाख दान सङ्कलन भएको महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु ७० लाख सङ्कलन भएको छ ।
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी बूढीमाई क्षेत्रको विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित सुरु भएको महायज्ञ यही कात्तिक १५ गतेसम्म चल्नेछ । महायज्ञबाट रु दश करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ, भने करिब रु ५० लाख खर्च हुने अनुमान छ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन्, भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल हेर्न सकिन्छ ।
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
छिम्केश्वरीमा हाल वार्षिक रुपमा एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्ष लगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छ ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५\७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष २०७६\७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ । रासस
