बिहीबार , भदौ २७ गते २०८१

आज तीजको दर खाने दिन, यस्तो छ दरको महत्व

आज तीजको दर खाने दिन, यस्तो छ दरको महत्व

अखबार दैनिक
बिहीबार , भदौ २० २०८१
  • आज तीजको दर खाने दिन, यस्तो छ दरको महत्व

    काठमाडौं । आज तिजको पहिलो दिन अर्थात् दर खाने दिन । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ।

    images

    आजबाट तिज सुरु हुन्छ ।  तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
    तीजमा  व्रत बसी भगवान शिवको पुजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। 

    नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। 

    धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ। तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकोमा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन्।

    किन खाने दर ?
    आज तिजको पहिलो दिन अर्थात् दर खाने दिन । आज माइती बाबु आमा,दाजुभाइले छोरीरचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन रहेको छ। 

    यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।

    आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलनसमेत रहेको छ सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ।

    भोलिपल्ट दिनभर पानीसम्म नपिइ बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो। तर पछिल्लो समय एक महिना अघिदेखिनै दर खाने कार्यक्रम भन्दै विभिन्न पाटी प्यालेसमा गएर रमाइलो गर्ने गरेको पाइन्छ । 

    तिजको धार्मिक महत्व 
    भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने  धार्मिक विश्वास रहि आएको छ । 

    हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

    एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेको छ । सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । तिजमा गाइने गितहरुमा पनि निकै विकृति मिसिदै आएको छ । पहिलेको समयमा नारीहरुको दुख बेदनालाई गित बनाएर गाउने गरिन्थ्यो भने आज भोलि बजारमा छाडा प्रवृतिका गितहरुले स्थान पाउन थालेका छन् । जसले गर्दा हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । यस्ता बिषयमा सम्बन्धित निकायले समयमा नै ध्यान दिन जरुरी छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ