काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक ११ भदौमा बस्ने भएको छ । त्यस दिन बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन् ।
रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । ढकाललाई गत बुधबार दोस्रो पटक स्पष्टीकरण सोधेको थियो र उनले जवाफ पनि बुझाइसकेका छन् ।