आइतबार, मंसिर ९ गते २०८१

विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

शुक्रबार, भदौ ७ २०८१
  • विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

    जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ । नगरपालिकाले दरबन्दी मिलानका क्रममा विद्यालयमा कार्यरत सामाजिक विषयको शिक्षकलाई अन्यत्र सरुवा गरेपछि पदपूर्ति नहुँदा तीन महिनादेखि विद्यालयमा सामाजिक विषयको अध्यापन गराउने शिक्षक अभाव छ ।

    images

    दरबन्दी मिलानका क्रममा गत जेठमा नगरपालिकाले विषयगत शिक्षक सरुवा गरेपछि हालसम्म पनि पदपूर्ति नभएको विद्यालयका प्रधानाध्यापक सरोजकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ९ मा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

    “अरु विषयको शिक्षक खभाव नभएकाले प्रश्नपत्र तयार गरी त्रैमासिक परीक्षा भइसकेको छ”, प्रअ झाले भन्नुभयो, “सामाजिक विषय शिक्षक अभावमा प्रश्नपत्र नबन्दा परीक्षा हुन सकेको छैन ।” उहाँका अनुसार सोही विषयको एकजना शिक्षक दुई वर्षअघि निलम्बनमा पर्नुभएको थियो । उहाँको ठाउँमा हाउनुभएका शिक्षक पनि दरबन्दी मिलानका क्रममा गत जेठमा सरुवा भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकासँग पटकपटक शिक्षक माग गरिरहेको भन्दै हालसम्म सुनुवाइ नभएको उहाँले उल्लेख गर्नुभयो ।

    विद्यालयमा सामाजिक मात्र नभई गणित, अङ्ग्रेजी विषय शिक्षकको समेत समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताउनुभयो । “कक्षा १२ ९प्लस टु०मा पनि राजनितिक शास्त्र विषयगत शिक्षक अभाव छ । पटकपटक शिक्षक माग गर्दा नगरपालिकाले कार्यविधि बनाएर व्यवस्था गर्ने बताउँदै आएको छ । नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    सामाजिक विषय शिक्षकसहित अभाव रहेका शिक्षकको दरबन्दी आव्हन गरेर शिक्षकको पदपूर्ति गर्ने योजना रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताउनुभयो । “तल्लो तहको शिक्षकले योग्यता पुगे माथिल्लो कक्षामा पढाउन सक्ने शिक्षा नियमावलीको प्रावधान छ । विद्यालयमा केही शिक्षकले पढाएको कक्षा कम देखिएका विद्यालयसँग बसेर छलफल गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार