आइतबार, मंसिर ९ गते २०८१

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

अखबार दैनिक
बुधबार, भदौ ५ २०८१
  • ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

    काभ्रेको रोशी गाउँपालिका– ३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ। स्थानीय सरकारले पोखरीवरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शिरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन्।

    images

    स्थानीय गंगाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन्। यहाँ आउने पर्यटकहरूले पोखरीछेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन्। सो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

    रोशी गाउँपालिका– ३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछे (पद्मसम्भव)ले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन। यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ। जनैपूर्णिमाका दिन धामी–झाँक्रीहरू सो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताइन्छ।

    परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको जनविश्वास छ। सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीयहरू बताउँछन्। 

    गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा ताराखसे पोखरी रहेको रोशी गाउँपालिका– ३ का वडाध्यक्ष धनजित लामाले बताए। गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ।

    धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण सुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिए। हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालयलगायतका संरचना बनिसकेका छन्।

    रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाइबाले दुई हजार ५५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताए। महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ। हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उनले बताए।

    रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गरे। उनले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिए। संघीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष ०८०/८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्यांकी, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ।

    यहाँबाट वरिपरिको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ। ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निगाले हुँदै जानुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार