भदौ २ काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आइतबार दिल्ली प्रस्थान गरेकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।
मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् ।
परराष्ट्रमन्त्री डा. राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनेछिन् ।