काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आइतबार प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरूप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए ।
विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरूप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे ।
आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गरे ।