काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले मधेस सरकारलाई प्राथमिकता दिएको छ । कांग्रेस–एमालेको संघीय सरकारमा सहभागी नभएको जनमतले मधेस सरकारलाई मात्रै प्राथमिकता दिएको हो ।
स्रोतका अनुसार सत्ता गठबन्धन दलले जनमत पार्टीकै चाहनाअनुसार मधेस प्रदेश सरकारको नेतृत्व दिएर संघीय सरकारमा भाग नदिएको हो । सोहीअनुसार जनमतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन भने गर्नेछ । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले पार्टीको प्राथमिकता संघीय सरकार नभएको बताए ।
उनले भने, ‘वर्तमान सरकारमा काम गर्ने राम्रो मन्त्रालय पनि देखिएको थिएन, काम नै गर्न नपाएपछि त्यस्तो सरकारमा किन जाने भनी सोचेर नै हामी नगएको हो । हामीलाई मधेस प्रदेश सरकारको चिन्ता छ, त्यो सरकारलाई कसरी राम्रो बनाउने, राम्रो काम कसरी गर्ने भनेर ध्यान दिइरहेका छौँ ।’
पूरै कार्यकाल मधेस सरकारको नेतृत्व गर्न पाए सो अवधिसम्म जनमत पार्टी संघीय सरकारमा सहभागी नहुने उनको भनाइ छ ।
पछिल्लो समय माओवादी–एमाले गठबन्धन बन्दा मधेस प्रदेशमा जसपा नेपाललाई विस्थापित गरेर जनमतलाई सरकारको नेतृत्व दिइएको थियो । यस्तै असार १७ मा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपनि सोही सरकारलाई निरन्तरता दिइएको थियो ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    