आइतबार, असोज ४ गते २०८३

प्रहरीले भन्यो– सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला

प्रहरीले भन्यो– सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला

बिहीबार , असार २७ २०८१
  • प्रहरीले भन्यो– सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला

    काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए ।

    प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँ–ठाउँमा भत्किएका, भासिएकाले दर्जनौं सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।

    अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए ।

    प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।’

    प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि तीन दिन देशभर मौसम बदली भई ठाउँ–ठाउँमा वर्षा हुने सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ