सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार दिउँसो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई एपीएफको प्रधान कार्यालय हलचोकमा सम्मान गरेका हुन् ।
एपीइफको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए।
आरोहणपश्चात उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो ।
पौडेलको सम्मानमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको बताए । ‘यो सगरमाथा आरोहण मात्र होइन सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो’, उनले भने ।
उनले सपना जस्तै सोचिएको मिसन सफल भएको र संगठनले गर्व गर्ने अवस्था प्राप्त भएको बताए । आरोहण सफलताका लागि विशेष योगदान पुर्याउने मिङ्गमा डेविड शेर्पालाई मायाको चिनोसमेत प्रदान गरेका थिए ।