राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभरका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले किराँत समुदायको पर्व उँभौलीका अवसरमा पनि शुभकामना सन्देश जारी गरी सबै वर्ग, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामना गरेका छन् ।
सन्देशमा उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गरेका छन् ।