शनिबार, वैशाख २२ गते २०८१

अर्थतन्त्र चलायमान बनेको दाबी गर्दै अर्थमन्त्रीले भने – पुँजीगत खर्च ३० प्रतिशत नाघ्यो

अर्थतन्त्र चलायमान बनेको दाबी गर्दै अर्थमन्त्रीले भने – पुँजीगत खर्च ३० प्रतिशत नाघ्यो

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • अर्थतन्त्र चलायमान बनेको दाबी गर्दै अर्थमन्त्रीले भने –  पुँजीगत खर्च ३० प्रतिशत नाघ्यो

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउने गरी काम गरिरहेको दाबी गरेका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता अर्थतन्त्र चलायमान बनाउन निरन्तररुपमा लागिपरेको बताएका हुन् ।

    images

    पुनले सम्बोधनका क्रममा भने, ‘म अर्थमन्त्री बनेयता ७० अर्ब रुपैयाँ निकासा भइसकेको छ ।’ उनका अनुसार सरकारको दायित्वमा रहेको र भुक्तानी नभइरहेको रकम निरन्तर निकासा भइरहेको हो । अर्थमन्त्रीले विशेष गरी निर्माण व्यवसायीको निकासा नरोक्ने नीतिसहित अघि बढिरहेको बताए ।

    उनका अनुसार सार्वजनिक खरिद नियमावली संशोधन भएपछि सरकारमाथि भुक्तानीको दायित्व झनै बढेको छ । यस्तै दायित्वअनुसार निर्माण व्यवसायीको भुक्तानी प्रक्रिया नरोक्ने नीति सरकारले लिएको उनको भनाइ छ । तर निर्माण व्यवसायीले रकम निकासाको फाइल प्रक्रिया पुर्‍याएर ल्याउनुपर्नेमा जोड दिए ।

    यस्तै विविध समस्याका कारणले सरकारले खर्च गर्न नसकेको स्थितिलाई उल्ट्याउने गरी अघि बढेको पुनको भनाइ छ । ‘एक महिनाअघि सरकारको पुँजीगत खर्च २३ प्रतिशत मात्रै थियो,’ पुनले भने, ‘अहिले ३० प्रतिशतभन्दा बढी खर्च भइसकेको छ ।’ यो आर्थिक वर्ष सकिनका लागि अझै ३ महिना बाँकी छ ।

    सो अवधिमा पुँजीगत खर्च झनै बढ्ने अर्थमन्त्रीले बताए । राजश्वको लक्ष्यमा ४१ प्रतिशतको वृद्धि लक्ष्य राखिनु पनि एक कारण भएको बताउँदै भने, ‘४१ प्रतिशतको राजश्व वृद्धि पनि सम्भव छ ?’ डा. बाबुराम भट्टराईको पालामा ३२ प्रतिशतसम्म राजश्व वृद्धि भएको अर्थमन्त्री पुनले स्मरण समेत गरे ।

    ‘म हुँदा २४ प्रतिशत राजश्व बढेको थियो । र, यिनै हुन् नेपालको इतिहासमा सबैभन्दा बढी राजश्व बढेको उदाहरण,’ पुनले थपे, ‘४१ प्रतिशतको लक्ष्य राखेपछि कर्मचारीको जिम्मेवारी र दबाब बढ्छ ।’ फराकिलो लक्ष्य राखेपछि भेट्टाउनका लागि कर्मचारी पुराना चाहिने-चाहिने फाइल पल्टाउनतर्फ लाग्नुपर्ने स्थिति सृजना भएको पुनको भनाइ छ ।

    महालेखा परीक्षकको कार्यालयका अनुसार आजसम्म पुँजीगत खर्च ३०.९९ प्रतिशत भएको छ । चालू आर्थिक वर्षमा सरकारले पुँजीगततर्फ ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये आजसम्म ९३ अर्ब ५९ करोड खर्च भएको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार