शनिबार, वैशाख १५ गते २०८१

मकै पोल्ने र सालको पात बेच्ने महिला सम्मानित

मकै पोल्ने र सालको पात बेच्ने महिला सम्मानित

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • मकै पोल्ने र सालको पात बेच्ने महिला सम्मानित

    बुटवल उपमहानगरपालिकाले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन्।

    images

    स्थानीय महिलाले जीविकोपार्जनका लागि सडक पेटिमा हरियो मकै पोलेर, सालको पात तथा टुना, टपरी बनाएर बिक्री गरेर गर्दै आएका छन्। यसरी काम गर्दा परिवारको दैनिक खर्चमा सहज भएको बुटवल–७ मा बसोबास गर्ने ५२ वर्षीया लक्ष्मीदेवी आर्चायले बताइन्। विगत २२ वर्षदेखि हरियो मकै पोलेर बेच्ने गर्दै आएको भन्दै उनले यहीँ व्यापारबाट जीविकोपार्जन भइरहेको बताइन।

    सोमबार, बिहीबार बुटवलको दीपनगरको हाटबजारमा र शनिबार, बुधबार, आइतबार र मङ्गलबार अन्य हाटबजारमा मबै पोलेर बेच्ने गरेको आचार्यले सुनाइन्। ‘पहिला सुरुमा हरियो सागसब्जी बेच्ने गर्थे’, उनले भनिन्, ‘पहिलेको व्यवसायबाट घाटा भएपछि दैनिक जीवनयापनका लागि मकै पोल्ने पेसा थालेकी हुँ।’

    आचार्यले दीपनगर बजारमा दैनिक एक सय बढी मकै पोलेर बिक्री गर्छिन् भने अन्य हाटबजारमा एक सय ५० भन्दा बढी बिक्री गर्ने गरेकी छिन्। उनले यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म मुनाफा हुने गरेको सुनाइन्। ‘काम सानो वा ठूलो नहुने भन्ने कुरा उपमहानगरले सम्मान गरेपछि महसुस भयाे।’ उनले भनिन्।

    बुटवल–३ गोलपार्कका ६६ वर्षीया राधा राना मगरले विगत २० वर्षदेखि मकै पोलेर जीवनयापन गर्दै आएकी छिन्। गुल्मी जिल्लाको भार्से घर बताउने उनले विसं २०३४ मा बुटवल झरेकी थिइन्। सुरुमा कालिकानगरमा ढाका कपडा बुन्ने तथा बुटवल औद्योगिक क्षेत्रमा मजदुरी गर्ने गरेको बताउँदै उक्त कामबाट घर खर्चमा समस्या भएपछि मकै बिक्री गर्न थालेको उनले सुनाइन्।

    राधाले पोलेका मकै प्रतिगोटा २५ देखि ३० र हरियो २० मा बिक्री हुने गरेको छ। कहिलेकाहीँ दिनको ३० देखि ७० वटासम्म मकै बिक्री हुने गरेको उनले जानकारी दिइन्। उनले आफ्नो पेसालाई प्रत्साहन गर्न उपमहानगरले पाँच हजारसहित सम्मान गरेका भन्दै यसबाट थप उर्जा प्राप्त भएको बताइन्।

    बुटवल–१ स्थित फूलबारीमा बस्दै आएकी २८ वर्षीया दिलमाया विक तिनाउ पुल छेउमा मकै पोलेर बेच्ने गर्छिन्। मकै बिक्रीबाट दैनिक पाँच सय मुनाफा आर्जन हुने गरेको उनले बताइन्। विगत १० वर्षदेखि यहीँ व्यवसाय गरेकी विकले पोलेको मकै २५ देखि ३० सम्ममा बिक्री हुने गरेको छ। विकले बिहान उपमहानगरमा सरसफाइको काम गर्नुका साथै अन्य समयमा मकै पोलेर बेच्ने गर्छिन्।

    बुटवल–१ को दीपनगरमा बसोबास गर्दै आएकी ५२ वर्षीया तारा गिरीले विगत ३० वर्षदेखि सालको पात बिक्री गर्दै आएका छन्। उनले पहिला हरियो सागसब्जीको व्यापार गर्नेगरेकामा तरकारी व्यवसायबाट नोक्सान धेरै भएपछि पेसा परिवर्तन गरेको बताइन्। गिरीले श्रीमान् अस्वस्थ्य भएकाले केही गर्न नसक्ने भन्दै तीन छोरी र एक छोराको सबै खर्च सालको पात बेचेर नै भइरहेको बताइन्।

    उनले दीपनगरको बजार र बुटवल हाटबजारमा पात बेच्ने गर्छन्। कपिलवस्तु लगायत जङ्गलमा पुगेर दिनभरिमा सालका पात टिपेर ल्याउने गरेको र भोलिपल्ट बजार प्रतिमुठा ५० देखि ६० सम्ममा बिक्री गर्ने गरेको गिरीले जानकारी दिइन्। यसबाट दैनिक पाँच सयदेखि एक हजारसम्म मुनाफा आर्जन हुने गरेको उनको भनाइ छ।

    उपमहानगरले यसरी स्वरोजगार बन्दै आएका यहाँका महिलालाई पाँच हजारसहित सम्मान गरेकाले यसबाट काम गर्न थप हौसला प्राप्त भएको उनकाे भनाइ थियाे।

    रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–२ योगीकुटीमा बसोबास गर्ने ४० वर्षीया रमा बस्यालले विगत ११ वर्षदेखि सालको पात बिक्री गर्दै आएकी छिन्। उनी नजिकैको चरङ्गे, भलुहीको जङ्गलमा पुगेर सालको पात टिप्छिन्। उनले उक्त पात बुटवल बजारमा बिक्री गर्दै आएकी छिन्। बुटवल नजिकको जङ्गलमा पात नपाउँदा नवलपरासीको चोरमारा जङ्गलसम्म पुगेर पात टिप्ने गरेको बस्यालले बताइन्।

    बुटवल उपपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी, फलफूलसँगै सालको पात बिक्री गर्दै आएकी ७७ वर्षीया सावित्रा गुरुङ ठकुरी (नानी) को जीविकोपार्जनको प्रमुख आधार नै यही पेसा बनेको छ।

    ‘चिडियाखोला सुकुम्बासी टोलमा बस्छु। १६ वर्षको उमेरमा भारतीय सेनामा कार्यरत गोपाल ठकुरीसँग विवाह भयो। श्रीमान्को सेनाबाट अवकाश भएपछि स्वदेश आएका थियो। बुटवलमा मजदुरी गर्दागर्दै उनको क्षयरोगले थलिएर निधन भयो’, उनले भनिन्।

    उमेर ढल्किँदै जाँदा श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि छोरी निरुको सहयोगमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको ठकुरीले बताइन्। उनी हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने हाटबजारमा जाने गरेकी छिन्।

    ठकुरीले भनिन्, ‘घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, त्यसैले यहाँ आएपछि दिदीबहिनीसंग कुराकानी गरेर दिन काट्छु। केही आम्दानी पनि हुन्छ, जीविकोपार्जन यसैबाट भइरहेको छ।’

    बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मकै पोल्ने, सालको पात बिक्री गर्ने, फलफूल तथा तरकारी बिक्री गरी स्वरोजगार बनेका महिलालाई सम्मान गरिएको बताए। गत वर्षको नीति तथा कार्याक्रममा स्वरोजगार महिलालाई सहयोग तथा सम्मान गर्ने विषयम समावेश गरिएको बताउँदै सोहीअनुसार पाँच हजारसहित सम्मान गरिएको उनले जानकारी दिए।

    प्रमुख पाण्डेयले यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए। महिला सशक्तीकरण अभियान अन्तर्गत उनीहरुलाई पाँच हजार नगदसहित सम्मान गरिएको उनको भनाई छ। नगरले इ रिक्सा चलाउँदै आएका ७५ जना महिलालाई केही महिना अघि तालिम र सम्मान गरेकाे प्रमुख पाण्डेयले जानकारी दिए।

    उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले सबै क्षेत्रमा सबैसँग जोड्न बजेटमा यस्ता कार्याक्रम समावेश गरिएको सुनाइन्।

    मानवीय विकासविना महिला सशक्तीकरण नहुने भएकाले तल्लो क्षेत्रमा रहेर श्रम गरिरहेका महिलाको जीवनस्तर उठाउने उद्देश्यले सम्मान गरिएको उपप्रमुख अर्यालले बताइन्। 

    आगामी आवमा पनि सीपमा पहुँच पुर्‍याउने किसिमका योजना नीति तथा कार्यक्रममा ल्याउने उनले जानकारी दिइन्।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार