काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट नै तय गर्ने बताए । उनले एकतामा नजाने एकीकृत समाजवादीका कमिटीका नेताहरूलाई सोही जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरे ।
“मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्नेछौँ । त्यही भेलामा हामी जम्मा हुनेछौँ र अब कसरी जाने भन्ने कुरा त्यहीबाट गम्भीर हिसाबले छलफल गरेर हाम्रो बाटो तय गर्नेछौँ । त्यतिबेलासम्मका लागि नआत्तिनुहोला,” उनले भने । उनले पार्टी एकतामा नजानेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नफर्किन आग्रह गरे ।
