शनिबार, वैशाख २२ गते २०८१

विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय राति १२ बजेसम्म खोल्ने

विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय राति १२ बजेसम्म खोल्ने

अखबार दैनिक
बिहीबार , फागुन १७ २०८०
  • विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय राति १२ बजेसम्म खोल्ने

    १७ फागुन,विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकिएको छ । यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएको थियो । सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो ।

    images

    विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

    व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक-पटक महानगरलाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्नका लागि महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो ।

    बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाले बताए ।

    मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्ने बताए । रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार