१३ फागुन, काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुका लागि राखिएका माइक बिग्रन थालेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफू रहेको कुर्सी अगाडिको माइक बिग्रेपछि अन्य सांसदहरुको माइक तानेर बोल्नु परेको छ ।
प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ दोङले शून्य समयमा बोल्न माइक उचाले तर, काम गरेन । त्यसपछि उनी अलमलिए । सभामुखले ‘अर्को माइक प्रयोग गर्न’ सुझाए ।
केही बेरपछि शून्य समयमै बोलेका हेमराज राईले पनि माइकका कारण हैरानी बेहोर्नु पर्यो । आफ्नो छेवैको माइक बिग्रिएको थाहा पाएपनि अर्को–अर्को गर्दै आफू रहेको लहरका सबै माइक एक-एक गरी चेक गरे तर कुनैले पनि काम गरेन । त्यसपछि उनले तल्लो लहरमा पुगेर माइक लिएर बोले ।