बिहीबार , वैशाख २७ गते २०८१

ओपन एआईले ल्यायो भिडियो एआई टुल ‘सोरा’

ओपन एआईले ल्यायो भिडियो एआई टुल ‘सोरा’

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • ओपन एआईले ल्यायो भिडियो एआई टुल ‘सोरा’

    च्याट जीपीटी निर्माता ओपन एआईले यसैसाता ल्याएको नयाँ भिडियो एआई टुल ‘सोरा’ले विश्व फिल्म तरंगित बनेको छ । शब्द टाइप गरेकै भरमा गुणस्तरीय र आकर्षक भिडियो बनाइदिने यो जेनेरेटिभ एआईले हलिउडलाई धक्का दिन सक्ने अनुमान गरिएको छ ।

    images

    फिल्म र एनिमेसन उद्योगलाई प्रभावित तुल्याउने विश्लेषण गरिएको यो एआई टुलले के हलिउडलाई विस्थापित गर्ला ? यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण थालेका छन् ।

    हलिउड रिपोर्टर म्यागजिनले ‘सोरा’ एआई टुलले भिजुअल इफेक्टमा काम गरिरहेका श्रमिक र पोस्ट-प्रोडक्सनको कामलाई चुनौती दिनसक्ने जनाएको छ । शनिबार बर्लिन फिल्म फेस्टिभलको एक सत्रमा समेत साम अल्टम्यान नेतृत्वको ओपन एआईको यो भिडियो टुलबारे ठूलै बहस चलेको थियो ।

    लस एन्जलसका एक फिल्म निर्देशक डेभ क्लार्कले फिल्ममेकरले यसबाट डराउनुको सट्टा कहिल्यै कल्पना वा महसुस नगरेको सामग्रीको लागि एआई प्रविधिलाई अँगाल्नुपर्ने तर्क गरे । उनले भने, ‘एआईबाट जागिर खोसिएला भनेर डराउनुपर्दैन । बरु तपाईं यी उपकरण चलाउने व्यक्तिसँग डराउनुपर्छ ।’

    सोराको प्रणालीले साधारण शब्दको भरमा कुनै दृश्यको पृष्ठभूमि, बहुचरित्रकरण, डिटेलिङ समावेश भिडियो र दृश्य निर्माण गर्नसक्छ । ओपन एआईले टेक्निकल पेपरमा यसबारे विस्तृत उल्लेख गरेको छ जहाँ सोराले बनाएका भिडियो पनि समावेश छ ।

    ‘विज्ञहरूले वास्तवमै यो (सोरा)लाई चिन्ता वा चासोसहित नयाँ कथाका लागि केही नयाँ आउँदैछ भन्ने उत्साहका साथ हेरिरहेका छन्’ द क्याटालिस्ट्सका संस्थापक एसी कोपेन्सले शनिबार भने । दुई दिनअघि सोराको बेटा भर्सन सार्वजनिक गरिएको थियो, जसले एक भिडियो मिनेट लामो भिडियो उत्पादन गर्न सक्षमता राख्छ ।

    ‘जब तपाईंले अन्तरिक्षमा उडिरहेको अन्तरिक्ष यात्रीको त्यो ६० सेकेन्डको सट सिर्जना गर्नुहुन्छ, त्यसपछि के हुन्छ ? कथाले हामीलाई कहाँ लैजान्छ ?’ क्लार्कले प्रश्न गरे । सोराले हलिउड र विज्ञापन उद्योगमा त्रास सिर्जना गरेको बताए । ‘त्यहाँ धेरै उत्साह छ, तर त्यहाँ धेरै डर पनि छ । यो सबैको साँच्चै अर्थ के हो ?,’ उनले भने ।

    फिल्मसँगै गेमिङ क्षेत्रलाई समेत सोराले सिधै प्रभाव पार्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार