शनिबार, जेठ ५ गते २०८१

आशिष र सेसेहाङसहित चार खेलाडी अष्ट्रेलिया गए

आशिष र सेसेहाङसहित चार खेलाडी अष्ट्रेलिया गए

अखबार दैनिक
बुधबार, माघ २४ २०८०
  • आशिष र सेसेहाङसहित चार खेलाडी अष्ट्रेलिया गए

    २४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

    images

    नेपालको घरेलु लिग नियमित नहुँदा फुटबलरहरु विदेशिने क्रम बढिरहेको छ । पछिल्लो दुई वर्षमै राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया लगायतका देश बनेको छ ।

    त्यसमा अहिले आशा बोकेका चार युवा खेलाडी थपिएका छन् । आशिष, सेसेहाङ र सिमान्तले राष्ट्रिय टिमबाटै खेलिसकेका छन् भने अनिश राष्ट्रिय टिममा परे पनि खेल्न बाँकी थियो ।

    आशिषले पछिल्लो पटक चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिग खेल्दै उपाधि जितेका थिए । उनले गत असारमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपालको लागि डेब्यु गोल गरेका थिए र अझै धेरै गर्न बाँकी रहेको बताएका थिए । तर एक वर्ष नबित्दै उनको सोच परिवर्तन भयो । केही समयअघि सम्पन्न नेपाल सुपर लिगमा आशिष धनगढी एफसीको मार्की खेलाडीमा थिए । आहारारा पोखरा गोल्डकपमा लागि मछिन्द्र एफसीमा अनुबन्ध भएता पनि आशिष खेल्न भने गएनन् ।

    त्रिभुवन आर्मी एफसी छाडेर मछिन्द्र क्लबमै अनुबन्ध भएका सेसेहाङ पनि पोखरमा खेल्न गएनन् । सेसेहाङले ललितपुर सिटी एफसीबाट खेल्दै नेपाल सुपर लिगको उपाधि जितेका थिए ।

    पछिल्लो लिगमा जावलाखेल युथ क्लबका कप्तानी गरेका सिमान्त थापाले वीरगञ्ज युनाइटेडबाट नेपाल सुपर लिग खेलेका थिए । यस बाहेक अनिश पनि जावालखेलकै गोलकिपर हुन् । उनले पोखरामा जावलाखेल युथ क्लबबाट आहारारा पोखरा गोल्डकप खेलेका थिए । नेपाल सुपर लिगमा भने उनी झापा एफसीको दोस्रो रोजाइको गोलकिपर थिए ।

    चार खेलाडी अष्ट्रेलिया लागेपछि नेपालकी टिमका कप्तान किरणकुमार लिम्बुले नेपालले चार क्षमतावान खेलाडीलाई गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन् ।

    ‘आज हामीले चार क्षमतावन खेलाडी गुमाएका छौं । मलाई सधैं यस्ता खेलाडीहरु गुमाउनु पर्छ कि भन्ने डर लागिरहन्छ’, किरणले आफ्नो फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यदी मसँग उनीहरुलाई नेपाली फुटबलमै राख्न सक्ने शक्ति भएको भए म निसंकोच गर्थेँ । तर के गर्नु वास्तविकता त मसँग शक्ति छैन । शुभकामना भन्न पनि गाह्रो भइरहेको छ । नेपाली फुटबलमा गरेको योगदानको सधैं प्रशंसा गर्नेछु ।’

    किरणले इन्डियन सुपर लिग आईएसएलमा राउण्ड ग्लास पञ्जावबाट खेलिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार