बिहीबार , वैशाख २७ गते २०८१

सकियो सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान

सकियो सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • सकियो सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान

    काठमाडौँ । चलचित्र विकास बोर्डले सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा घुम्ती सिनेमा साक्षरता अभियान सकाएको छ । बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७देखि सुरु प्रारम्भ भएको घुम्ती सिनेमा साक्षरता अभियान अन्तर्गत अछाम जिल्लाको साँफेबगर र मंगलसेन, डडेल्धुराको अमरगढी नगरपालिकाका २ ठाउँ, डोटी जिल्लाको जोरायल गाउँपालिकाको बुडर र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका पहलमानपुरमा चलचित्र प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमहरू गरिएको थियो । अभियानमा स्थानीय कलाकार, जनप्रतिनिधि, विद्यार्थी, व्यवसायी एवं दर्शकहरूको उत्साहजनक सहभागिता रहेको बोर्ड सदस्य केसीले जानकारी दिए ।

    images

    अभियानमा नेपाली चलचित्रको प्रवर्द्धनमा बोर्डले गरेका गतिविधि, मौलिक चलचित्रको निर्माण तथा बजारीकरण, चलचित्र घर स्थापना एवं नेपाली मौलिक कला, संस्कृति एवं पर्यटनको प्रवर्द्धन लगायतका विषयमा गहन छलफल गरिएको बोर्ड सदस्य केसीको भनाई छ । अभियानले सुदूर पश्चिमका ग्रामीण बस्तीमा नेपाली चलचित्र सम्बन्धी साक्षरता अभिवृद्धि गरेको बोर्डका निर्माण अधिकृत हरिसिंह राइखोलाले जानकारी दिए ।

    अभियानमा चलचित्र विकास बोर्डले विशेष चलचित्रको अवार्ड प्रदान गरेका चलचित्रहरु बुलाकी, एट अनोदर विन्टर, ह्विल्स अन द बस र ऐना झ्यालको पुतली प्रदर्शन भएको थियो । त्यस क्रममा अछाममा कलाकार जनक साउदको संयोजकत्वमा सिनेमा क्लब गठन गरिएको थियो ।  

    सिनेमाघरको पहुँच बाहिर रहेका बस्ती र समुदायमा सिनेमा हेर्ने संस्कृतिको विकास गर्ने,  राष्ट्रिय चलचित्रको बजारीकरण र सिनेमा साक्षरता विषयमा आम दर्शकलाई सु–सूचित गर्ने, घुम्ती सिनेमा वा सिनेमा क्लब सञ्चालन गरी दर्शकहरूलाई चलचित्र सम्बन्धी ज्ञान र रुचि अभिवृद्धि गर्ने, मौलिक नेपाली चलचित्र निर्माण एवं प्रवर्द्धनबारे दर्शकहरूको रुचि, प्रतिक्रियाबारे धारणा बुझ्ने उद्देश्यले विगत केही वर्षदेखि चलचित्र विकास बोर्डले घुम्ती सिनेमा साक्षरता अभियान सुरु गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ