शनिबार, जेठ ५ गते २०८१

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

अखबार दैनिक
आइतबार, माघ २१ २०८०
  • २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

    २१ माघ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणको अन्तिम चरणका कामहरु धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    images

    सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेको र सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर राखिएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान अन्तिम चरणमा रहेको र नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

    उपकरणहरुको जडान धमाधम भइरहेको र सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत पुगेको समेत प्राधिकरणले जनाएको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ ।

    मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

    आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकेको छैन । अहिले मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाको निर्माण सम्पन्न भई परीक्षणको काम जारी छ ।

    आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सवस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाब प्राधिकरणलाई छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सवस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।

    कार्यकारी निर्देशक घिसिङले जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सक्न निर्देशन दिए ।

    बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

    प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

    तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ८ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार