काठमाडौँ : खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चौर बनाउन थालिएको छ। अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको हो। काठमाडौं महानगरपालिकाका अनुसार सतहमा भएका सबै ढुंगा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ। यसमाथि प्राकृतिक दुबो रोपिनेछ।
महानगरको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्छन्, ‘दुबोसहितको चौर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ, बिहान शारीरिक अभ्यास गर्न सकिनेछ, व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ, मर्निङ वाक गर्न सकिनेछ, बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ।’
पूर्वाधार सल्लाहकार सुनिल लम्सालले उबडखाबड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताए।
‘खेल मैदानको जस्तो कृत्रिम दुबो लगाउने कुनै योजना छैन’, उनले भने, ‘हामीले दैनिक ५० जना परिचालन गरेर जमिनमा भएका मसिना ढुंगा समेत टिप्न लगाएका छौँ।’ महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले गत ३ दिनदेखि काम भइरहेको जानकारी दिए। ऐतिहासिक खुलामञ्चमा दुईवटा फुटबल मैदान बनाउने महानगरले याेजना बनाएपछि यसकाे विराेध भएकाे थियाे।