पोखरा । नेपाली कांग्रेस कास्कीले विभिन्न लाभको पदमा आफ्नो भाग खोजेको छ । सोमबार भएको जिल्ला सम्मेलनका क्रममा नेताहरूले कास्कीलाई भाग नदिइएकोमा गुनासो गरेका हुन् ।
उपसभापति युवराज कुँवरले मञ्चबाटै केन्द्रीय समितिबाट कास्की कांग्रेसलाई अन्याय भएको गुनासो गरे । प्रदेशको मन्त्रिपरिषद् र राष्ट्रियसभा सदस्यको टिकट वितरणमा कास्कीलाई छुटाइएको उनको आरोप थियो ।
`प्रदेश मन्त्रिपरिषद्मा कास्कीबाट एकजना पनि मन्त्री बनाइएको छैन । राष्ट्रियसभामा टिकट किन दिइएन ?,´ उनले प्रश्न गरे, `आगामी दिनमा यस्तो नहोस् ।´ कुँवरले जिल्लाका नेताहरू एकले अर्कालाई अवसरबाट वञ्चित गराउन लागेको भन्दै सुध्रिन सुझावसमेत दिए ।