शनिबार, जेठ ५ गते २०८१

आजदेखि यू १९ क्रिकेट विश्वकप सुरु हुँदै, नेपालको पहिलो खेल आइतबार

आजदेखि यू १९ क्रिकेट विश्वकप सुरु हुँदै, नेपालको पहिलो खेल आइतबार

अखबार दैनिक
शुक्रबार, माघ ५ २०८०
  • आजदेखि यू १९ क्रिकेट विश्वकप सुरु हुँदै, नेपालको पहिलो खेल आइतबार

    ५ माघ, काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो ।

    images

    सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ । यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

    विश्वकपमा आज दुई खेल हुँदैछ । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

    फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ ।
    नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल आउने आइतबार न्युजिल्याण्डसँग खेल्नेछ । यू १९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

    जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् ।

    यस्तै समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् ।

    प्रतियोगिताको फर्म्याट परिवर्तन
    यस पटक प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरिएको छ । सुरुमा लिग चरणको खेल हुनेछ र हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

    समूह चरण पार गर्ने १२ टोलीलाई सुपर सिक्स चरणमा दुई समूहमा विभाजन गरिनेछ । जहाँ समूह ‘ए’ र समूह ‘डी’ का ३–३ टिम सुपर सिक्समा एक समूहमा हुनेछन् भने समूह ‘बी’ र समूह ‘सी’ का ३–३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछन् ।

    समूह चरणमै खेलिसकेको टिम विरुद्ध सुपर सिक्समा खेल्नुपर्ने छैन । तर आफ्नै समूहबाट सुपर सिक्समा पुगेका टिमसँगको खेलको नतिजा भने गणना हुनेछ । सुपर सिक्सको दुई समूहको शीर्ष २–२ टोली सेमिफाइनल पुग्नेछन् । यस पटक यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने आईसीसीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार