१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रको सौन्दर्य बढाउन फूलका गमला राख्न सुरू गरेको छ ।
हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयवासीहरुको सहभागितामा फलामे स्ट्यान्डमा फूलसहितका गमला राखेको हो । v२९औं महानगर दिवसको अवसर पारेर सो क्षेत्रमा फूलको गमला राख्ने काम भएको महानगरले जनाएको छ ।
वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर भन्छन्, ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ । यो असर रोक्ने अभिप्रायले काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधन भित्र प्रवेश नगरुन् भनेर एक अर्काे गमलालाई फलामे साङ्लाले जोड्ने काम भएको छ ।’
हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत दरबार परिसरमा १२ वटा फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् ।
शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको महानगरले जनाएको छ । यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएको मानन्धरले बताए ।