काठमाडौँ । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ ।
‘२५औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदा अर्पण गर्न चाहन्छौं,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन योगदान गरेको कम्पनीको भनाइ छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको कम्पनीको भनाइ छ ।
मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो ।
२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ÷असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरीरहेको छ । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुने बताइएको छ ।