काठमाडौं : लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परकेा छन्।
सर्लाही - कबिलसी नगरपालिका-९ सलेम्पुरबाट लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय भाग्यनारायण महतो समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
पर्सा - वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका- ७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा नौगछियाबाट लागूऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका-५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो।
कैलाली, भजनी नगरपालिका-२ गौनियाबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कपिलवस्तु, विजयनगर गाउँपालिका-२ पडरियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने २३ वर्षीय बिजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। तेलीले लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।