हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।
एक घन्टापछि ९अन्दाजी ६:३० तिर बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्यौँ, आँखा बन्द गर्यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।
त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो ।
यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।
अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रहयौँ ।
नयाँ पत्रिका