शनिबार, जेठ ५ गते २०८१

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

अखबार दैनिक
बुधबार, असोज १० २०८०
  • टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

    १० असोज, काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।

    images

    चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।

    १. कीर्तिमानी स्कोर
    नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो ।

    यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो ।

    २. सर्वाधिक रन रेट
    नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

    ३. सर्वाधिक छक्का
    बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो ।

    यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए ।

    ४. कुशलको कीर्तिमानी शतक
    मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।

    १३७ रनमा अविजित रहेका उनी टी-२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे । पहिलो नम्बरमा एरोन फिन्च छन् । उनले १७२ रन बनाएका छन् ।

    ५. ऐरीको नाममा नयाँ रेकर्ड
    मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् ।

    मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

    ६. स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान
    बुधबार ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो ।

    यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।

    ७. ठूलो अन्तरको जित
    नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी-२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार