शनिबार, चैत २३ गते २०८१

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छ : प्रधानमन्त्री

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छ : प्रधानमन्त्री

अखबार दैनिक
शुक्रबार, चैत २२ २०८१
  • जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गर्नुभयो ।

    images

    “यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पु¥याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको बताउनुभयो । “हिमालहरूको पीडा र हिमाल तथा समुद्रबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ र म यहाँहरू धेरैलाई त्यहाँ देख्न उत्सुक छु”, उहाँले भन्नुभयो ।

    जलवायुको प्रभावका कारण तटीय क्षेत्रहरूमा पनि समुद्री सतह बढिरहेको र आँधीका घटना तीव्र हुँदै गइरहेको उल्लेख गर्दै उहाँले बिम्स्टेक क्षेत्रले हिमपहिरो, चक्रवात, मेघगर्जनसहितको वर्षा, तातो हावा र खडेरीजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको बताउनुभयो । “हाम्रा जनता र हाम्रो भविष्यको रक्षा गर्न हामीले निर्णायक रूपमा कार्य गर्नु अनिवार्य छ, जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सामुहिक रुपमा काम गर्न जरुरी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    उहाँले जलविद्युत् क्षेत्रमा लगानी गरेर सीमापार ऊर्जा ग्रीड र नवीकरणीय ऊर्जा परियोजनामार्फत क्षेत्रीय ऊर्जा व्यापार बढाउनपर्ने आवश्यकता औँल्याउनुभयो । साथै उहाँले बढ्दो व्यापार तनाव र आपूर्ति शृङ्खला अवरोध हटाउँदै द्रुत प्राविधिक परिवर्तनलाई आत्मसाथ गरी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    “विपद् पूर्वतयारी, सार्वजनिक स्वास्थ्य सेवा र समावेशी आर्थिक नीतिहरू हाम्रो क्षेत्रीय मुद्दाको केन्द्रमा रहनुपर्छ, सामाजिक र सांस्कृतिक सद्भावलाई प्रवद्र्धन गरिनुपर्छ, र समुदायको बलियो भावनालाई बढावा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय र क्षेत्रीय नीतिगत ढाँचाहरूसँग एकीकृत गरी न्यायपूर्ण, समावेशी ढङ्गबाट सम्बोधन गर्नुपर्छ ।”

    सम्मेलनको सफलता र बिम्स्टेक सदस्य राष्ट्रका जनताको चिरस्थायी शान्ति, कल्याण र समृद्धिका लागि आफू तीन करोड नेपाली जनताको सन्देश लिएर यहाँ आएको उल्लेख गर्दै उहाँले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र सरकारलाई न्यानो आतिथ्यता र शिखर सम्मेलन आयोजनाका लागि प्रशंसा र आभार व्यक्त गर्नुभयो । साथै उहाँले विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट म्यानमार तथा थाइल्याण्डका सरकार एवम् जनताप्रति समवेदना र सहानुभूति व्यक्त गर्नुभयो ।

    “बिम्स्टेकको सुरुआत यही सहरबाट भएको पनि दुई दशकभन्दा बढी भइसकेको छ । यस अवधिमा हामीले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा पर आमूल परिवर्तन र रूपान्तरण देखेका छौं”, उहाँले भन्नुभयो, “यी दुई दशकमा बङ्गालको खाडी विश्वव्यापी आर्थिक परिदृश्यमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेका क्षेत्रमा परेको छ, तथापि चुनौतीहरू कायमै छन् । शान्ति र समृद्धिको खोजी जारी छ ।”

    सम्मेलनको विषयले हामीलाई मार्गनिर्देश गर्छ
    आर्थिक असमानता, वातावरणीय जोखिम र राजनीतिक अनिश्चितताका चुनौतीका बीचमा बिम्स्टेकलाई कुशलतापूर्वक अघि बढाउनु आवश्यक छ । साथै क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्न समेत जरुरी रहेको उहाँको भनाइ थियो । “म विश्वास गर्छु कि, शिखर सम्मेलनको विषय ‘सम्पन्न, उत्थानशील र खुला बिम्स्टेक’ले हामीलाई त्यो मार्गनिर्देश प्रदान गर्दछ”, उहाँले भन्नुभयो ।

    बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू दक्षिण एसिया र दक्षिणपूर्वी एसिया बीचको एक अद्वितीय सहकार्यको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एक अद्वितीय पुलको रूपमा यसले एक अर्ब ८० करोडभन्दा बढी जनताको सामूहिक आकाङ्क्षालाई समेट्ने बताउनुभयो ।

    दिगो विकासका लक्ष्यहरू सम्पन्नता, उत्थानशीलता र खुलापनसँग नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’सँग पनि गहिरो रूपमा प्रतिध्वनित रहेको उहाँको भनाइ थियो । “आजको विषय केवल एक नारा होइन, यो कार्य गर्नका लागि आह्वान हो । यी तीन प्राथमिकताहरूले हाम्रो आगामी मार्ग तय गर्नेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    बिम्स्टेक क्षेत्र प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र युवा जनशक्तिले समृद्ध रहेको र हिमालय शृङ्खलादेखि बङ्गालको तटसम्म प्रचुर सम्भावनाले भरिपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । यस क्षेत्रको अपार सम्भावनालाई ध्यानमा राख्दै समृद्धि केवल इच्छा मात्र होइन यो प्राप्त गर्न सकिने लक्ष्य समेत भएको उहाँको भनाइ थियो । “तर लक्ष्यमा पुग्न हामीले यसलाई रणनीतिक रूपमा उपयोग गर्नुपर्छस यसलाई दिगो रूपमा मानव पुँजीमा लगानी गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

    काठमाडौँमा भएको चौथो बिम्स्टेक शिखर सम्मेलनले शिक्षा, सीप विकास र क्षमता अभिवृद्धिमा क्षेत्रीय सहयोगको महत्त्वमा जोड दिएको अवगत गराउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय अन्तरआबद्धता हाम्रो समृद्धिको खोजीमा एक महत्त्वपूर्ण स्तम्भ रहेको उल्लेख गर्नुभयो । “बजार र मस्तिष्कको अन्तरआबद्धता, पूर्वाधार र विचारहरूको अन्तरआबद्धता, संस्कृति र साइबरको अन्तरआबद्धता विकासको अर्को मेरुदण्ड हो”, उहाँले भन्नुभयो ।

    बिम्स्टेकको समृद्धिका लागि अन्तरआबद्धतामा जोड
    बिम्स्टेक यातायात अन्तरआबद्धता गुरुयोजना र बिम्स्टेक सामुद्रिक यातायात सहयोग सम्झौताको समयबद्ध कार्यान्वयनले यस सम्बन्धमा महत्त्वपूर्ण प्रगति ल्याउने उहाँको भनाइ थियो । “यो चिन्ताको विषय हो कि बिम्स्टेकमा अन्तर–क्षेत्रीय व्यापार केवल पाँच प्रतिशत मात्र छ, जुन ‘आसियान’, ‘ईयु’ वा ‘नाफ्टा’को तुलनामा धेरै कम छ”, उहाँले भन्नुभयो । हाम्रो समाज, अर्थतन्त्र र राष्ट्रहरूबीचको प्राकृतिक अन्तरसम्बन्ध बाहेक, हाम्रो क्षेत्र विश्वव्यापी रूपमा सबैभन्दा कम एकीकृत क्षेत्रहरूमध्ये पर्ने बताउँदै उहाँले यो परिवर्तन हुनैपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री ओलीले यो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत र साधनहरुको लाभ उठाउन एक एकीकृत बङ्गालको खाडी क्षेत्र निर्माण गर्नु अनिवार्य रहेकामा जोड दिनुभयो । उहाँले यस क्षेत्रका सबै अर्थतन्त्रहरू समान छैनन् भन्ने स्वीकार गर्दै, विशेष आवश्यकता भएका सदस्य राष्ट्रहरूलाई साझा समृद्धिमा सहभागी हुन सक्षम बनाउन विशेष अवसर प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    आज विश्व एक दोबाटोमा रहेको र विगत केही वर्षहरूमा, पारिस्थितिकीदेखि अर्थतन्त्र, व्यापार तनावदेखि प्राविधिक अवरोध, जलवायु परिवर्तनदेखि द्वन्द्व, महामारीको पीडादेखि ध्रुवीकरणको खतरासम्मका अनिश्चितको विश्वमा उत्थानशीलता सबैभन्दा बलियो प्रतिरक्षा भएको उहाँको भनाइ थियो ।

    एक जीवन्त र गतिशील बिम्स्टेकका लागि, खुलापन आधारशिला भएको बताउँदै उहाँले राजनीतिक, आर्थिक, पारिस्थितिक र सांस्कृतिक सरोकारहरूलाई समग्र रूपमा सम्बोधन गर्ने दीर्घकालीन स्थायित्वका लागि आवश्यकता औल्याउनुभयो । “हामीले दिगो पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध, र सीमापार लगानीमार्फत जनस्तरको सम्पर्कलाई बलियो बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    बिम्स्टेकभित्र भिसा–अन–अराइभल नीतिले यात्रालाई सहज बनाउन र गहिरो क्षेत्रीय सम्बन्धहरूलाई बढावा दिन एउटा गेम–चेन्जर (परिवर्तनकारी) हुने उहाँको भनाइ थियो । “हामीले ई–कमर्श, सीमापार भुक्तानी र विद्युतीय शासनलाई सहज बनाउन डिजिटल एकीकरणलाई प्राथमिकता दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । नवीनतालाई बढावा दिन र साझा चुनौतीहरू जलवायु परिवर्तनदेखि खाद्य सुरक्षा, प्रविधि–सञ्चालित आर्थिक रूपान्तरणसम्मलाई सम्बोधन गर्न अनुसन्धान र विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड थियो ।

    कुनै पनि बिम्स्टेक राष्ट्र पछाडि नछुटोस् भन्ने सुनिश्चित गर्नु सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले बिम्स्टेक बडापत्र र यसले कायम राखेका सिद्धान्तहरूप्रति नेपालाको प्रतिबद्धता दोहोर्याउनुभयो । “हामी जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्व गर्न पाउँदा गर्व गर्दछौं र प्राथमिकताका क्षेत्रहरूमा साझेदारीलाई अझ बलियो बनाउन तत्पर छौं”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी एक ऐतिहासिक मोडमा उभिएका छौं, आउनुहोस् बङगालको खाडीलाई एक सम्पन्न, उत्थानशील र खुला क्षेत्रमा रूपान्तरण गर्ने हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गरौं ।”

    प्रधानमन्त्री ओलीले हाम्रो शक्ति एकतामा निहित रहेको र बलियो सहकार्यमा चम्किने उल्लेख गर्दै भन्नुभयो, “भविष्य उनीहरूकै हो जसले तत्परता र दूरदृष्टिका साथ काम गर्छन् । म नेपालमा जन्मिएका शान्तिका अग्रदुत भगवान बुद्धका ज्ञानी शब्दहरूबाट मेरो भनाइ टुङ्ग्याउन चाहन्छु । “तिमीले जतिसुकै पवित्र शब्दहरू पढे पनि, जतिसुकै बोले पनि, यदि तिमी तिनलाई व्यवहारमा उतार्दैनौ भने तिनले तिम्रो के भलो गर्छन् र ?”

    उहाँले यस क्षेत्रका जनता र भावी पुस्ताका लागि परिणाम दिने बिम्स्टेक निर्माण गर्न हाम्रा शब्दहरूलाई कार्यमा परिणत गर्न आग्रह गर्दै यस क्षेत्रलाई सम्पन्नता, उत्थानशीलता र खुलापनको गतिशील केन्द्रमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बिम्स्टेक राष्ट्रका अध्यक्षका हैसियतले थाइल्याण्डले विगत तीन वर्षदेखि बिम्स्टेक प्रक्रियालाई दूरदृष्टिका साथ अगाडि बढाएकामा प्रशंसा गर्नुभयो । उहाँले छिमेकी बङ्गलादेशलाई आगामी अध्यक्षका रूपमा बिम्स्टेकको नेतृत्व गर्न शुभकामना व्यक्त गर्दै दृढ समर्थनको विश्वास समेत दिलाउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ