शनिबार, जेठ ५ गते २०८१

मेस्सीले एक करोड डलरमा फ्लोरिडामा किने सुविधा सम्पन्न घर

मेस्सीले एक करोड डलरमा फ्लोरिडामा किने सुविधा सम्पन्न घर

अखबार दैनिक
बुधबार, भदौ २७ २०८०
  • मेस्सीले एक करोड डलरमा फ्लोरिडामा किने सुविधा सम्पन्न घर

    काठमाडौँ । लामो समय युरोपबाट व्यवसायीक फुटबल खेलेपछि अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले अन्ततः मियामीमा सानदार घर किनेका छन् । मेजर लिग सकर (एमएलएस) खेल्न इन्टर मियामीमा आबद्ध भएदेखि नै मेस्सी उपयुक्त घरको खोजीमा थिए । 

    images

    इन्टर मियामीमा आबद्ध भएयता मेस्सी आफ्नो परिवारसहित अमेरिकामै बस्दै आएका छन् । मेस्सी र उनकी श्रीमती एन्टोनेला रोकुज्जो दुबैको रोजाइमा उक्त घर किनिएको समाचारमा जनाइएको छ । मेस्सीले किनेको नयाँ घर १० हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ । 

    ३६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सीले फ्लोरिडाको लाउडरडेलमा किनेको नयाँ घरमा आठवटा बेडरुम रहेको छ । उनको घरको बार्दलीबाट समुद्रको मनोरम दृश्य देख्न सकिने समाचारमा जनाइएको छ । उनको नयाँ घरमा स्विमिङ पुल, इटालियन शैलीको किचन र तीनवटा गाडी अटाउने ग्यारेजको सुविधा रहेको छ । 

    यसैगरी उनको घरमा स्पा र जिमको सुविधा पनि रहेको छ । मेस्सीले एक करोड सात लाख ५० हजार अमेरिकी डलर (करिब एक अर्ब ४२ करोड पाँच लाख ८७ हजार नेपाली रुपैयाँ) मा उक्त घर खरिद गरेका हुन् । मेस्सी गत जुलाईमा इन्टर मियामीमा आबद्ध भएका थिए ।

    मेसी आबद्ध भएपछि एमएलएसले पनि विश्व व्यवसायी फुटबलमा नयाँ उचाइ हासिल गरेको छ । लामो समयदेखि विरलै जितको मुख देख्दै आएको इन्टर मियामीले मेसी आबद्ध भएपछि भने एक खेल पनि हारेको छैन । उनले इन्टर मियामीलाई लिग्स कपको उपाधि पनि चुमाइसकेका छन् । 

    आफ्नो समयका चर्चित फुटबलर डेविड बेकह्याम पनि इन्टर मियामीका मालिकहरुमध्ये एक हुन् । मेस्सीलाई मियामीमा भित्राउन बेकह्यामले नै महत्वपूणर् भूमिका निर्वाह गरेका थिए । इन्टर मियामीमा आबद्ध हुनुअघि मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा थिए । 

    सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कतार विश्वकपको उपाधि जितेको थियो । अहिले उनी आगामी विश्वकपको छनोट प्रतियोगिता खेल्न अर्जेन्टिना फर्किएका छन् । 

    मेसीलाई उक्त नयाँ घर जोन एन्ड स्टासी डिकरसनले बिक्री गरेको हो । त्यो घर गत वर्षको मे महिनामा डिकर्सनले ९० लाख अमेरिकी डलरमा खरिद गरेको थियो । केवल १४ महिनाको अवधिमा डिकरसनले २० प्रतिशत नाफा लिएर उक्त घर मेसीलाई बिक्री गरेको हो ।  

    मेस्सीले किनेको त्यो घर सन् १९८८ मा निर्माण गरिएको हो । त्यसपछि सन् २००० मा त्यो घरमा थप कक्षहरू विस्तार गरिएको थियो । मेस्सीले किनेको घर इन्टर मियामीको रंगशाला र प्रशिक्षण स्थलबाट करिब पाँच माइल टाढा रहेको छ । उनको नयाँ घरबाट मियामी अन्तर्राष्ट्रिय विमानस्थल पनि नजिकै रहेको छ ।

    मेस्सीले आफ्ना पुराना मित्र एवं सहकर्मी सर्जियो बुस्केट्सको घरनजिक नयाँ घर किनेका हुन् । मेस्सी र ३५ वर्षीय बुस्केट्स थोरै समयको फरकमा इन्टर मियामीमा आबद्ध भएका हुन् । बुस्केट्सले गत महिना साउथ फ्लोरिडाको सि रेन्च लेक्स नजिकै घर किनेका थिए । 

    बुस्केट्सले ८७ लाख अमेरिकी डलरमा उक्त घर किनेका थिए । बुस्केट्स आफ्नी प्रेमिका ३२ वर्षीय एलिना गालेरा र दुई छोरासहित उक्त घरमा बस्छन् । बुस्केट्स र एलिना सन् २०१४ देखि एकसाथ बस्दै आएका छन् । बुस्केट्सको नयाँ घर सात हजार एक सय स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । उक्त घरमा सातवटा बेड रुम रहेको छ । त्यो क्षेत्रमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरू बस्ने भएकाले त्यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार