आइतबार, मंसिर ९ गते २०८१

जापानसँग लज्जास्पद हार भोगेपछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

जापानसँग लज्जास्पद हार भोगेपछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

अखबार दैनिक
आइतबार, भदौ २४ २०८०
  • जापानसँग लज्जास्पद हार भोगेपछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

    काठमाडौँ । चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४—१ गोलको फराकिलो अन्तरले हराएको हो । 

    images

    जापानसँग नमिठो हार भोगेपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक पनि दबाबमा परेका छन् । जापानले खेलको दुबै हाफमा दुई—दुई गोल गरेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै जुनया इतोले जापानका लागि पहिलो गोल गरेका थिए । 

    १९औँ मिनेटमा जर्मनीका लेरोय सानेले जवाफी गोल गर्दै खेललाई १—१ को बराबरीमा पुर्‍याएका थिए । खेलको प्रारम्भदेखि नै जापानले जर्मनीलाई दबाबमा राखेको थियो । २२औँ मिनेटमा जापानका लागि आयसे युएदाले दोस्रा गोल थपेका थिए । 

    यसैगरी खेलको अन्तिम समयमा जापानले थप दुई गोल गरेको थियो । खेलको ९०औँ मिनेटमा ताकुमा एसानोले जापानका लागि तेस्रो गोल गरेका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा एओ तानाकाले जापानका लागि चौथो तथा अन्तिम गोल गरेका थिए । उक्त खेल जर्मनीको उल्फ्सवर्गमा खेलिएको थियो । 

    पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीले निकै फितलो प्रदर्शन गर्दै आएको छ । जर्मनीले पछिल्ला पाँच खेलमा भोगेको यो चौथो हार हो । सन् २०२० पछि जर्मनीले भोगेको यो सबैभन्दा ठूलोअन्तरको हार पनि हो । सन् २०२० मा खेलिएको नेसन्स लिगमा स्पेनले जर्मनीलाई ६—० गोलले हराएको थियो । 

    सन् २०२१ को अगस्तमा जर्मनीको प्रशिक्षक बनेयता फ्लिकले खासै गतिलो नतिजा दिन सकेका छैनन् । उनको प्रशिक्षकत्वमा खेलेका २५ मध्ये १२ खेलमा मात्र जर्मनी विजयी भएको छ । बार्यन म्युनिखका पूर्वप्रशिक्षक फ्लिक जोचिम लोयको स्थानमा जर्मनीको प्रशिक्षक बनेका थिए । 

    सन् २०२२ को कतार विश्वकपमा पनि जर्मनीलाई जापानले हराएको थियो । त्यतिबेला जापानले जर्मनीलाई २—१ गोलले पराजित गरेको थियो । ‘वास्तबमै यो निराशाजनक नतिजा हो । विश्व फुटबलमा यस्तो हुन्छ । हेरौं अब के गर्ने सकिन्छ,’ खेलपछि प्रशिक्षक फ्लिकले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ