सोमबार, असार १७ गते २०८२

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

अखबार दैनिक
सोमबार, माघ २९ २०८०
  • मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

    २९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

    images

    गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    प्रथम त्रैमासिक समीक्षापछि पनि कर्जा विस्तार हुन नसकेको, चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ भने मुद्रास्फीतिको दबाब पनि देखिँदैन । यता कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजीकोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आँकलन गरीएको छ ।

    विदेशी विनिमय सञ्चित बढ्दैमा अर्थतन्त्र सुधार नहुने भएकाले अब आर्थिक गतिविधि चलायमान गर्ने दिशातिर नीति लक्षित गर्नुपर्ने बेला आएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए । यस्तोमा मौद्रिक नीति समीक्षाले कर्जा विस्तारमार्फत आर्थिक गतिविधि चलायमान गर्न जोड गर्ने आँकलन गरिएको छ ।

    यस्तै पूँजीकोषको दबाब कम गर्न केही कर्जाको जोखिम भार पुनरावलोकन गर्नेजस्ता विकल्पमा पनि राष्ट्र बैंक जानसक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने विनियमावली र कार्यविधि संशोधन गरिसकेकोले मौद्रिक नीति समीक्षाबाट निक्षेप संकलन दर सहित ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर समेत हेरफेर हुनसक्ने स्रोतले जनाएकोछ ।

    राष्ट्र बैंकले लगातार तरलता खिच्नु परेकाले त्यसको लागत उच्च दरमा बढेको छ । हाल अधिक तरलता भएकाले नीतिगत दरहरू घटाएमा सरकारी आन्तरिक ऋणको लागत पनि अझै तल आउनसक्छ । जसले गर्दा नीतिगत दरहरु अझै केही घट्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार