काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको टिजरमा कमेडीले प्राथमिकता पाएको छ । पैसाको बलमा आफूलाई राजा ठान्ने एक व्यक्तिको कथा सिनेमाले भन्ने टिजरले संकेत गरेको छ । टिजरमा केदारसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेललगायत छन् । चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । यो चलचित्रमा केदार, वर्षा, शिशिरसँगै आर्यन सिग्देल, मिस पविलगायतको मुख्य भूमिका छ ।
‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।