बिहीबार , वैशाख २० गते २०८१

ढाडको बांगोपनको उपचार नगरे फोक्सो र मुटुमा समस्या !

ढाडको बांगोपनको उपचार नगरे फोक्सो र मुटुमा समस्या !

अखबार दैनिक
बुधबार, साउन १७ २०८०
  • ढाडको बांगोपनको उपचार नगरे फोक्सो र मुटुमा समस्या !

    काठमाडौँ : ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चामा बढी देखिने विभिन्न अध्ययनले देखाएको छ। कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बांगिन्छ। २० डिग्रीभन्दा माथिको ढाड बांगिएको छ भने त्यसले समस्या दिने चिकित्सकले बताउँदै आएका छन्।

    images

    १० वर्षको उमेरपछि धेरैजसो बालिकामा यो समस्या देखिने गरेको छ। ढाडको बांगोपनको समस्या सात बालिका बराबर एक बालकमा देखिन्छ। ढाडको बांगोपनको उपचार नेपालमा सर्वसुलभ छ। आम नागरिक भने यसबारे अनभिज्ञ छन्।

    ढाड बांगिने रोगसँग केन्द्रित रहेर एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छेसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश– 

    के कारणले ढाड बांगो हुन्छ ?
    एउटा त जन्मजात ढाड बांगो हुन्छ। अर्को किसिमको बांगोपनको कारण थाहा नहुने खालको हुन्छ। जसलाई इडियोप्याथी भन्छौं। त्यो धेरैजसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ। यो चाहिँ छोराभन्दा छोरीलाई बढी देखिन्छ। सातजना छोरीमा देखियो भने एकजना छोरामा देखिन्छ। कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन।

    ढाड बांगो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसलाई थाहा छैन। त्यसैले उनीहरू उपचार नगराई बसिरहेका हुन्छन्। यसको उपचार सम्भव छ। समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याबाट बचाउन सकिन्छ।

    ढाडको बांगोपनको उपचार समयमै नगरे फोक्सो र मुटुमा समस्या आउन सक्छ। सानो उमेरमै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ ? एकछिन हिँड्दा पनि स्वाँस्वाँ हुन्छ। ती कुरा हामीले वेलैमा पत्ता लगाएर समयमै उपचार गर्नसक्यौं भने उसको जीवन सामान्य बनाउन सक्छौं।

    ढाडको बांगोपन भएको कसरी थाहा पाउन सकिन्छ ?
    सबैभन्दा सामान्य उपाय भनेको हातले भुईं छुन कोसिस गरेजस्तै घुँडालाई सिधा राखेर बच्चालाई हात जोडेर निहुरिन भन्नुपर्छ। विद्यालयमा शिक्षकहरू वा आमाबुबाले घरमा हेरे पनि हुन्छ। त्यसरी हेर्दाखेरी ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभल अलिकति तल भएको देखिन सक्छ। त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौं। त्यो करङ नै रोटेट भएर एउटा तल एउटा माथि आएको देखिन्छ।

    त्यो चाहिँ सबैभन्दा सरल उपाय हो। घरघरमा अथवा स्कुल स्कुलमा गर्न सकिन्छ। बांगोपन देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं। एक्सरेले क्लियर गर्छ।

    उपचार कत्तिको खर्चिलो छ ?
    हाम्रो एशोसिएशनमा दर्तावाल चिकित्सक झन्डै एक सयजना हुनुहुन्छ। त्यो बाहेक दर्ता नभएका झन्डै १५ जना हुनुहुन्छ। उहाँहरू सबै विज्ञ हुनुहुन्छ। हामीले एक्सरे गरेर हेरिसकेपछि बांगोपन कति डिग्री रहेछ भनेर नाप्छौँ। यदि २५ डिग्रीभन्दा कम छ भने केही पनि गर्नुपर्दैन। हामीले निरीक्षण मात्रै गर्ने भनेर भन्छौँ। ६-६ महिना वा वर्षमा फलोअप गर्छौं।

    बांगोपन २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौँ। त्यसलाई प्रेस भनेर भन्छौं। यदि बांगोपना ४० डिग्रीभन्दा बढी छ भने अप्रेशन गर्नुपर्छ भनेर भन्छौं। जे उपचार गरे पनि मुख्य कुरा मेरुदण्ड सन्तुलित हुनुपर्‍यो। हामी उभिँदाखेरी टाउकोको लेभल कम्मरको बीचमा पर्नुपर्‍यो। यदि बांगोपन धेरै छ भने अप्रेशन गर्छौं।

    ​अप्रेशन गर्दा रडहरू लगाउनुपर्छ। रड विदेशबाट मगाउनुपर्छ। यो अलिकति महँगो पर्छ। विदेशमा उपचार गर्ने खर्चभन्दा झन्डै झन्डै आधाभन्दा पनि कम खर्चमा उपचार हुन्छ।

    कुन उमेर समूहमा बढी देखिन्छ ?
    यो धेरैजसो बच्चामा देखिन्छ। आमाबुबाले तेल लगाउन शुरु गरिसकेपछि ढाड बांगो भएको देखिन्छ। यो चाहिँ एक्सरे हेरेर हड्डी चारकुने बन्नुपर्ने नबनेर तीनकुने बनेको हुन्छ। इडियोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ। बच्चाहरू आफैँले नोटिस गरेका हुँदैनन्। आमाबुवाले नोटिस गर्नुपर्छ।

    कहिलेकाहीँ लुगा लगाएको फिटिङ हुँदैन। त्यसपछि थाहा हुन्छ। कहिलेकाहीँ शिक्षक र साथीहरूले थाहा पाउँछन्। फिटिङ नै भएन भन्छन्। चेक गरेर हेर्‍यो भने बांगोपन रहेछ भन्ने थाहा हुन्छ। हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौं। स्कुलमा बांगोपन भएका बच्चा छन् कि छैनन् भनेर पत्ता लगाउन स्कुल स्कुलमा गएर बच्चालाई जाँच्थ्यौँ।

    ढाडको बांगोपन उपचार नेपालमा सम्भव छ ?
    ढाडको बांगोपनको उपचार नेपालमा सम्भव छ। आजभन्दा १४-१५ वर्षअघि प्रविधिको विकास भएको थिएन। विषयविज्ञ पनि थिएनन्। विषयविज्ञहरू उपलब्ध हुँदै गए, उनीहरूले आज आएर ढाडको कुनै पनि समस्या विशेष गरेर ढाडको बांगोपन, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हातगोडा नचलेको लगायतको उपचार गर्न नेपालमा सम्भव छ।

    प्रविधिमा युरोप अमेरिकामा जति अघि पुग्न नसके पनि त्यो प्रविधि अनुसार उनीहरूको खर्च पनि एकदमै धेरै छ। हामीले जुन प्रविधि र विशेषज्ञले नेपालमा सुविधा दिइरहेका छौं। विश्वका राम्रो हस्पिटलमा जस्तो परिणाम आइरहेको छ, त्यो हामीले पनि दिनसक्छौं र दिइरहेका छौं।

    सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?
    सरकारले विभिन्न किसिमका स्वास्थ्य नीति त ल्याइरहेको छ। ढाडमा चोट लागेको, हेड इन्जुरी सम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ। स्पाइन भनेको शरीरको त पिलर हो नि। यदि मेरुदण्ड बलियो भए मात्रै कुनै पनि मान्छे आफ्नो काममा अघि बढ्न सफल हुन्छ।

    स्कोलीओसिस सर्जरीका लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन। तर ढाडमा चोट लागेकालाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ। हातगोडा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँ जति भत्ता पनि दिने गरेको छ।

    ढाडको बांगोपन हुन नदिन के गर्नुपर्छ ?
    जन्मजात बांगोपन हुनसक्छ। आमाको पेटमा हुँदाखेरी नै जुन हिसाबमा हड्डी बन्नुपर्ने हो त्यो नबन्न पनि सक्छ। इडियोप्याथिक (कारण नै थाहा नभएर बांगोपन हुने) ले पनि हुनसक्छ।

    चोटपटक लागेर पनि ढाड बांगो हुनसक्छ। चोटपटक लाग्नबाट बच्ने उपाय अपनाउनु पर्छ। ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ। रूख चढ्दा ख्याल गर्नुपर्छ। ढाडमा केही समस्या भएको छ भने र बांगोपन हुनसक्ने देखिएको छ भने समयमै उपचार गराउनुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार