शनिबार, मंसिर ८ गते २०८१

बालेनलाई दैनिक भाष्करका पत्रकारले साेधे–हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउने अधिकार कसले दियाे ?

बालेनलाई दैनिक भाष्करका पत्रकारले साेधे–हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउने अधिकार कसले दियाे ?

अखबार दैनिक
शुक्रबार, असार २९ २०८०
  • बालेनलाई दैनिक भाष्करका पत्रकारले साेधे–हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउने अधिकार कसले दियाे ?

    भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए । उनको यो निर्णयलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो ।

    images

    अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम दैनिक भाष्करलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।

    यस्तो छ बालेनसँग दैनिक भाष्करको संवाद :
    हिन्दी फिल्ममा प्रतिबन्ध लगाउनुपर्ने अवस्था कसरी आयो । जबकी तपाईंसँग यस्तो गर्ने पावर पनि छैन ?
    मलाई त यो प्रश्न नै चित्त बुझिरहेको छैन । आफ्नो अधिकार क्षेत्र बाहिर म कसरी गएँ, त्यो कुरा तपाईंले नै मलाई भन्नुहोस् । 

    यो प्रश्न सोध्नुको एउटा कारण के हो भने नेपालको संविधान अनुसार स्थानीय निकायलाई कुनै पनि फिल्म प्रतिबन्ध गर्ने अधिकार छैन । यसका लागि सेन्सर बोर्ड छ । तपाईंले कसरी प्रतिबन्ध लगाउनुभयो ?
    हामीले देशै भरी फिल्म रोकेका होइनौँ । पूरा देशमा हामीले कुनै पनि फिल्म रोक्न सक्दैनौँ तर हाम्रो स्थानीय सरकारको दायरामा आउने हलमा कस्तो फिल्म देखाउने, के देखाउनु सही हो, त्यो हामी निर्णय गर्न सक्छौँ ।

    महानगरपालिकाको काम त सहरको व्यवस्थापन हेर्नु, कर उठाउनु हो । फिल्म प्रतिबन्ध गर्ने निर्णय किन लिनुभयो ?
    संविधानको धारा–४८ मा नागरिकको कर्तव्य लेखिएको छ । देशको पहिचान, स्वाधीनता, इतिहासलाई बचाएर राख्ने हरेक नागरिकको जिम्मेवारी हो । यो एक मेयरको मात्र कर्तव्य होइन । आदिपुरुष रामायणमा बनेको आधिकारिक फिल्म हो । यो विश्वभर चलिरहेको छ । यति ठुलो जनसङ्ख्यालाई प्रभावित गर्ने फिल्ममा कुनै अर्को देशकी विभूति सीतालाई भारतको हो भनेर बताइएको छ । यो नेपालको मात्रै आपत्तिको विषय होइन ।

    यो फिल्म विश्वको जुन मुलुकमा चलिरहेको भए पनि प्रतिबन्ध लगाउनुपर्छ । नेपालमा त म मेयरको हैसियतमा बोलिरहेको छु । यसमा हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । नेपालमा मात्रै सेन्सर गरेर चलाउनुको अर्थ छैन । यसो गर्दा त केही पनि फरक पर्दैन । 

    यसलाई यसरी बुझौँ । बलिउडका फिल्ममा पाकिस्तानमा गोली मात्रै चलेको, बम पड्किएको मात्रै देखाइन्छ । त्यो देखेर श्रीलङ्का र नेपालका नागरिकलाई पाकिस्तान जान नै डर लाग्छ । मानिसलाई लाग्छ कि पाकिस्तानमा त आतङ्ककारी मात्रै बस्छन् । फिल्मले यस्तो खालको इमेज बनाउँछ । फिल्म यति शक्तिशाली हुन्छन् कि यसले मानिसको सोच फेर्न सक्छ । यदि कुनै फिल्मले सीतालाई भारतीय बनाउँछ भने मानिसले यसलाई नै सही मान्न थाल्छन् । नेपालको नागरिकको हिसाबले यसको विरोध गर्नुपर्छ ।

    सबै हिन्दी फिल्मको विरोध किन गरिएको भने यो हाम्रो देशमा बिकिरहेको छ । नेपालमा भारतको व्यापार छ । यहाँका नागरिकले यो सही होइन भन्न सक्नुपर्छ । भारतको फाइदाको लागि हामीले हाम्रो स्वाधीनता छोड्ने त कुरै हुँदैन । भारतमा पनि सेन्सर बोर्ड छन् । यसले पनि यस्तो चिज रोक्नुपर्छ ।

    भारत सरकारले यसलाई रोक्न सक्दैन भने हामीले रोक्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ तर यो कारणले हामी नेपालको स्वाधीनतासँग सम्झौता गर्न सक्दैनौँ । यस्तो पहिला पनि भइसकेको छ । फिल्म ‘चांदनी चौक टु चाइना’ फिल्ममा बुद्धबारे गलत कुरा गरिएको छ । अनिल कपुरको फिल्म थियो घरवाली–बाहरवाली । त्यसमा पनि गलत देखाइएको थियो । त्यति बेला पनि फिल्म प्रतिबन्ध भएको थियो । भारत सरकारले आफ्नो सेन्सर बोर्डका सदस्यलाई सम्झाउनु पर्छ । यसो गरे दुई देशको व्यापार र सम्बन्ध बिग्रन सक्छ भनेर बुझाउनुपर्छ ।

    जुन संवादका कारण तपाईंले आदिपुरुष प्रतिबन्ध गर्नुभयो, त्यो त फिल्ममा छँदै छैन । नेपालको सेन्सर बोर्डले त्यसलाई हटाइदिएको थियो । यस्तोमा प्रतिबन्ध नै किन गर्नुपर्‍यो ?
    नेपालमा जसले फिल्म हेरे, उनीहरुले त्यो डाइलग हेर्न पाएनन् । सेन्सर बोर्डले त्यो काटिदिएको थियो । भारतको मूल कपीलाई यहाँ कसैले हेरेका थिएनन् । भारतीय पक्षसँग कसैले यो कुरा उठाएनन् । नेपाली जनताले त यो डाइलग सुनेकै छैनन् भने कसरी यसबारे भन्छन् ?

    तपाईंले लगातार भारत विरोधी बयान दिइरहनुभएको छ, त्यसलाई सच्याउनुपर्छ जस्तो लाग्छ ?
    मलाई यस्तो लाग्दैन । आदिपुरुषका लेखक (मनोज मुंतशिर) ले पनि त माफी मागेका छैनन् । 

    संवेदनशील हुनुपर्छ जस्तो लाग्दैन ? 
    मैले आधारहीन कुरा थरेको भए मैले यसबारे सोच्नुपर्दथ्यो । यो कुराको पुष्टि त फिल्मका लेखकले नै गरेका छन् । यदि त्यो दृश्यमा त्यस्तो केही थिएन भने सेन्सर बोर्डले किन कैँची चलायो । यस्तोमा मेरो बयानको आधार त छ नै । यस्तो भन्नुको अर्थ भारत विरोधी हुनु होइन । भारतीय जनताविरुद्ध उभिनु पनि होइन । ऋतिक रोशनको मुद्दा यहाँ यस कारण जोड्न सकिँदैन किनभने त्यति बेला हामी पूरा भारत विरोधी भएका थियौँ । 

    पाटन उच्च अदालतले भारतीय फिल्ममाथि प्रतिबन्ध हटाउने आदेश दियो तर तपाईंले न्यायपालिका र नेपाल सरकार भारतको गुलाम भइसकेको भनेर लेख्नुभयो । के तपाईंले आफूले आफैँलाई योभन्दा माथि मान्नुहुन्छ ?
    म आफूलाई त्यो स्तरको राजनीतिज्ञ नभई नागरिक सम्झन्छु ।

    कोही नागरिकले अदालतलाई चुनौती दिन सक्छ ?
    मैले चुनौती दिएको होइन । मैले आफू सजायका लागि तयार छु भनेको हुँ । यसको अर्थ म अदालतलाई मान्दिनँ भनेको होइन । देश, स्वाधीनता र इतिहासको कुरा जब आउँछ, तब म मान्दिनँ ।

    भारत-नेपाल सम्बन्धबारे तपाईं के सोच्नुहुन्छ ?
    भारत र नेपालको सम्बन्ध राम्रो होस् भन्ने मेरो पनि चाहना छ । नेपालमा पर्यटनको निकै सम्भावना छ । यहाँ भारत र चीनको पर्यटक मात्रै आए पनि पर्याप्त छ । युरोपका पर्यटक नभए पनि केही फरक पर्दैन । त्यसैले सांस्कृतिक–धार्मिक र पर्यटनको हिसाबले राम्रो सम्बन्धको आवश्यकता छ । 

    तपाईंले भारतीय संसद्‌मा  नक्साको जवाफमा आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभयो । तपाईंले भारतले केही गर्दा तुरुन्त प्रतिक्रिया किन दिनुहुन्छ ?
    भारतले संसद्‌मा राखेको नक्सालाई सांस्कृतिक नक्सा बतायो । हामीले पनि ग्रेटर नेपालको नक्सालाई ऐतिहासिक भनेर राख्यौँ ।

    काठमाडौँमा हिन्दी फिल्म प्रतिबन्ध छ । नेपालका हिन्दी चलचित्र उद्योगीलाई प्रतिबन्ध फिर्ता लिने आश्वासन दिनुहुन्छ ?
    अदालतले त प्रतिबन्ध हटाएको छ । म के भन्न चाहन्छु भने नेपाल सरकारले भारत सरकार र उसको सेन्सर बोर्डलाई कुनै पनि देशको इतिहासलाई तोडमोड गरेर पेस गर्नु हुँदैन भनेर भन्नुपर्छ । मनोरञ्जनको नाममा कुनै देशको इतिहासलाई बङ्ग्याएर पेस गर्नु हुँदैन । दुवै देशले यसमा निर्णय लिए भने समस्या हुँदैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ