मंगलबार, मंसिर ४ गते २०८१

घर–सम्पत्ति जलाइयो, ज्यान जोगाउन भागेका जोडी सम्पर्कविहीन

घर–सम्पत्ति जलाइयो, ज्यान जोगाउन भागेका जोडी सम्पर्कविहीन

अन्तरजातीय विवाह गरेकै कारण गाउँलेले मुकुन्दको घरमा आगो लगाए। ज्यान जोगाउन भागेका वसन्ती र मुकुन्द बेपत्ता छन्। जुम्लाको तातोपानीका एक जोडीको अन्तरजातीय विवाहपछिको अवस्था ।

अखबार दैनिक
मंगलबार, असार १९ २०८०
  • घर–सम्पत्ति जलाइयो, ज्यान जोगाउन भागेका जोडी सम्पर्कविहीन

    काठमाडौं। जुम्लाको तातोपानी–४ गिडीखोलाका २१ वर्षीय मुकुन्द नेपाली र किशोरी वसन्ती गिरीको घर नजिकै थियो। करिब डेढ किलोमिटर दूरीमा घर रहेका उनीहरुबीच आउँदा जाँदा देख–भेट भइरहन्थ्यो। देख्दा–बोल्दा एक अर्कालाई मन पराउन थाले। बिस्तारै प्रेममा परे।

    images

    मुकुन्द सदरमुकाममा बसेर पढ्दै आएका थिए। भर्खरै कक्षा १२ उत्तीर्ण गरेर उनी स्नातक पढ्ने तयारी गर्दै थिए। वसन्ती गाउँकै स्कुलमा पढ्थिन्। दुवैजनाले मायापिरतीलाई विवाहमा परिणत गर्ने सोच बनाए।

    collage-2-1536x864.jpg

    तर उनीहरूको इच्छामा तगारो बन्यो जात। नेपाली थरका कथित ‘अछुत’ केटालाई कथित ‘ठूलो जात’का गिरी थरका अभिभावकले आफ्नी छोरी सुम्पिने कुरै भएन। तर, मुकुन्द र वसन्ती छुट्नै नसक्ने गरी प्रेममा डुबेका थिए।

    उनीहरूले बिहे गर्ने आँट पनि नगरेका होइनन्। अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा रुकुममा हत्या भएका जाजरकोटका नवराज विकलाई सम्झिए। साढे २ वर्षअघि नवराजरसहित उनका साथीसमेत ६ जनालाई लखेटीलखेटी मारेको घटनाले बिहे गर्ने हिम्मत जुटाउन सकेनन् उनीहरूले।

    मुकुन्द र वसन्ती जोडीले समाजमा कायम रहेको जातीय भेदभाव जस्तो अमानवीय चलनलाई तोड्ने विषयमा केही साथीहरूसँग छलफल पनि नगरेका होइनन्। उनले अब लुकेर हैन, खुलेरै जातीय विभेदविरुद्ध लड्ने सोच नबनाएका पनि होइनन्। ‘अन्तरजातीय विवाह खुलेरै गर्ने सोचमा रहेको’ भन्दै केही साथीसँग सुझाव मागेका थिए।

    तर, अन्तरजातीय विवाह गरेकै कारण, कुटाइ खानु परेको, घर र समाजबाट बहिष्कृत हुनु परेको घटना गाउँमै थिए। साथीहरूले पनि हिम्मत दिन सकेनन्। त्यसैले मुकुन्द र वसन्तीले गाउँमै बसेर बिहे गर्ने आँट गरेनन्।

    Jhumla-aago-laghi____2-1536x809.jpg


    आइतबार बिहान आगजनी गरिएको जुम्लाको तातोपानी–४, गिडीखोलास्थित मुकुन्द नेपालीको घर। तैपनि उनीहरू एक अर्कालाई छाड्न सक्ने अवस्थामै थिएनन्। अन्ततः उनीहरूले ज्यानको परवाह नगरी आफ्नो प्रेमलाई विवाहमा परिणत गरेरै छाड्ने निर्णयमा पुगे। १२ असारमा दुवैजना गाउँ छाडेर भागे।

    त्यही दिन (१२ गते) साँझ दुवैजना हराएको हल्ला चल्यो। हल्ला क्षणभरमै गाउँभरी फैलियो। संविधान र ऐन कानुनले जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाए पनि कथित तल्लो जातको केटासँग विहे गर्न लागेको कुरा वसन्तीको परिवारलाई पचेन। केटी पक्षका मानिसहरू केटा पक्षलाई ‘आफ्नी चेली फिर्ता गराइदिनू, नत्र राम्रो हुँदैन’ भन्दै धम्की दिन गए।

    वसन्तीका माइतीबाट केटा पक्षलाई ‘रुकुमकै काण्ड’ दोहोर्‍याइदिने धम्की दिइयो। यसअघि त्यही गाउँमै पनि अन्तरजातीय विवाह गरेका जोडीलाई गाउँबाटै खेदाइएका थिए। हेंलाहोचो गरी सामाजिक बहिष्कार गरिएको थियो।

    आफ्नी चेली भगाएको भन्दै मुकुन्दलाई पनि त्यसैगरी लखेट्ने धम्की उनका परिवारलाई दिइयो। धम्की दिनेमा वसन्तीका दाजु हिक्मत गिरी थिए। भरतले आफ्ना भाइ सम्पर्कमा नरहेको बताए। त्यसपछि केटा पक्षका मानिसहरू फर्किएर गए।

    मुकुन्दका दाजु भरतको मोबाइल फोनमा पनि बारम्बार धम्की आइरह्यो। घरमा भरतका भाइ थिएनन्। समाजको डरले वसन्तीलाई लिएर भागिसकेका थिए। धम्कीपछि भरतसहित परिवारका सदस्यले पनि घरमा बस्नु सुरक्षित ठानेनन्। भारतले कान्छो भाइलाई दिदीको घरमा पठाए। आफू बजारमा गएर बसे।

    IMG-20230703-WA0027-1536x1152.jpg

    दाजु भरत भन्छन् ‘‘हामी भागेर नेपालगन्ज आइपुग्यौँ’ भनेर मेरी बहिनीले भनिन्। मेरी बहिनी तेरो भाइसँग भागेर गइछ। दुवै जनालाई तत्काल यहाँ झिकाएर लेराइज। नत्र ‘रुकुमकै काण्ड’ दोहोर्‍याइदिन्छु भन्दै मलाई धम्की दिइरहे।’’

    गिडीखोलामा बाहुन, क्षेत्री र दलितको बस्ती छ। अलि पर केही जनजाति पनि बस्छन्। गिडीखोलाको दलित बस्तीमा २८ घरपरिवार छन्। मुकुन्दले केटी भगाएपछि गाउँलेहरूले दुवैजनालाई खोजेर ल्याउने तयारी गरेका थिए।

    तर दुवै जनाको फोन अफ थियो। उनीहरू भागेर नेपालगन्ज गएको खबर केटी पक्षबाट पाएकाले केही मानिसहरू उतै खोज्न जाने तयारीका थिए।

    उता केटी पक्षको धम्कीपछि केटाका दाजु भरत घर छाडेर सदरमुकाममै बस्न थालेका थिए। आइतबार बिहान ४ बजे छिमेकीले उनलाई फोन गरे। ‘‘घरमा आगो लागेको छ। निभाउन छिटो आउँ’’ फोन गर्नेले एकै सासमा सूचना दिए।

    IMG-20230703-WA0025-1536x1152.jpg

    भरत अत्तालिँदै घर पुगे। गिडीखोला बस्तीको बीचमा रहेको घरबाट धूवाँको मुस्लो आइरहेको थियो। गाउँलेले निभाउने प्रयास गरिरहेका थिए। आगो निभाउने प्रयासकाबीच तीनतले घर जलेर आधाउधीँ खरानी भइसकेको थियो।

    घरमा भएको अन्न भाँडाकुँडा, लत्ताकपडा सबै सरसामान जलिसकेको थियो। घरमा कोही नभएका कारण मानवीय क्षति हुन पाएन। तैपनि घर जलेर बस्न नसकिने भयो।

    घरमा आगो लाग्नुको कारण पहिचान गर्न गाह्रो थिएन। भाइले भगाएर लगेको केटी पक्षले आगो लगाइदिएको हुनसक्ने आशंका भयो।
    भरतले आइतबारै केटीका दाजु हिक्मत, उनका बुवा श्रीमराम गिरी, र काका नारायण गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा किटानी जाहेरी दिन गए।

    ‘अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको’ ब्यहोराको जाहेरी प्रहरीले लिन मानेन।

    नचाहिँदो आरोप लगाइएको भन्दै फिर्ता गरियो। तर, जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाब बढाए। दबाब थेग्न नसकेपछि प्रहरीले जाहेरी लियो।

    आगो लगाएको आरोपमा केटीका दाजु हिक्मत आइतबारै पक्राउ परेका थिए। तर जाहेरीमा केटीका बुबा श्रीराम र काका नारायणविरुद्ध पनि किटानी गरिएको छ। अनुसन्धानको लागि नियन्त्रणमा लिइएका केटीका दाजु हिक्मतले आवेशमा आएर आगो लगाएको बयान दिएका छन्।

    ‘‘अहिले एकजनाले आगो लगाएको देखाइए पनि धेरैको संलग्नता भएको आशंका छ। हाम्रो ठुलै परिवारको खाने बस्ने घरायसी लत्ताकपडा सम्पत्ति सबै जले। तीन तले घर जला ठुलो क्षति भयो। पीडकलाई कारबाही र हामीले क्षतिपूर्ति पाउनैपर्छ’’ केटा पक्ष मुकुन्दका दाजु भरत भन्छन्।

    केटीका दाजु हिक्मतले ‘रिसको झोंकमा आएर आगो लगाएकाे’  प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्। उनीविरुद्ध ‘आपराधिक उपद्रव र जातजातिका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

    जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशी भन्छन् ‘‘भागे बिहे गरेकी बसन्तीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ। थप अनुसन्धान गरिरहेमा छाैँ ।’’ प्रहरीले  मुकुन्द र उनीसँग भागेकी किशोरी बसन्तीको खोजी भइरहेको जनाएको छ।

    केटी पक्ष भन्छन् – नाबालिका हुन्
    केटीका आफन्तले भने केटी नबालिका रहेको र १६ वर्षको मात्र भएकोले फिर्ता गर्न भनेको तर नधम्क्याएको बताएका छन्।

    उनीहरू भन्छन्, ‘‘केटि नाबालिका छिन्। बिहे अवैध छ। अभिभावकको सहमति छैन। यसैले अहिलेलाई फिर्ता गरिदेऊ मात्रै भनेका हौँ। धम्की दिएका छैनौँ।’’ केटा पक्षले भने केटी नाबालिका भएमा कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिनुपर्ने माग राख्दै आएका छन्।

    केटाकेटी सम्पर्कविहीन, परिवार विस्थापित
    जुम्लाका अधिकारकर्मीले घटनाको राम्रोसँग अनुसन्धान गर्न माग गरेका छन्। दोषीमाथि कारबाही अघि नबढाए विरोधमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन्।

    Jhumla-aago-laghi____3.jpg

    जातीय भेदभाव र छुवाछुतको जघन्य कसुर भएकोले अन्तरजातीय विवाह गरेकै कारण घरमा आगो लगाएर विस्थापन गर्न खोज्नु गम्भीर अपराध भएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्की बताउँछन्।

    उनी भन्छन्, ‘‘ज्यान मार्ने उद्देश्यले घरमा आगो लगाइएको हो। अन्तरजातीय विवाह गरेकै कारण यस्तो भएको छ। यो छुवाछुत र भेदभाव कसुर सजाय ऐन २०६८ विपरीत कसुर हो। आगजनीका कारण नष्ट भएको चल, अचल सम्पत्तिको मूल्य बराबरको क्षतिपूर्ति दिनुपर्छ। कारबाही हुनुपर्छ।’’

    पाँच वर्षअघि मात्रै बनाएको घरमा आगो लागेपछि भरतको परिवार विस्थापित भएको छ । मुकुन्द पनि परिवारका कसैको सम्पर्कमा छैनन्। उनीहरू पनि ज्यान जोगाउन लुकेका हुनसक्ने केटा मुकुन्दका दाजु भरत बताउँछन्।

    उनी भन्छन्, ‘‘भाइ मुकुन्द पनि सम्पर्कमा छैन। घर पनि छैन। जातीयताका आधारमा गरेको यो अत्याचार सहीनसक्नु छ ?’’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ