मंगलबार, जेठ ८ गते २०८१

६० वर्षदेखि नसुतेको दाबी गर्ने ८० वर्षका वृद्ध

६० वर्षदेखि नसुतेको दाबी गर्ने ८० वर्षका वृद्ध

अखबार दैनिक
शुक्रबार, असार १५ २०८०
  • ६० वर्षदेखि नसुतेको दाबी गर्ने ८० वर्षका वृद्ध

    एजेन्सी - ८० वर्षका एक वृद्धले आफू पछिल्लो ६० वर्षदेखि नसुतेको दाबी गर्छन् । भियतनामका ८० वर्षका किसानले एकपटक ज्वरो आएपछि आफू निदाउन नसकेको दाबी गर्छन् । यद्यपि, उनको यस्तो अवस्थाले उनलाई साधारण जीवनयापनका लागि समस्या भने निम्त्याएको छैन । 

    images

    स्वस्थ जीवनका लागि निद्रा अपरिहार्य छ भनिन्छ । तर भियतनामका यी वृद्धको हकमा यो कुरा लागू हुँदैन । यी वृद्धले ६० वर्षको अवधिमा केही बेरको झप्की मात्रै लिए । थाई नोग नामका यी व्यक्ति पछिल्लो केही वर्षदेखि समाचारको हेडलाइन बनेका छन् । स्वस्थ, सक्रिय जीवन बिताउनका लागि उनलाई निद्राका आवश्यक पर्दैन भनेर ती समाचारमा उल्लेख छ । नोगकी श्रीमती, बालबच्चा, साथी र आफन्तले उनी कहिले पनि सुतेको नदेखेको दाबी गर्छन् । उनी आफैँले पनि निद्राको कमीले उनको जीवनमा खासै केही नकारात्मक असर नगरेको बताउँछन् । 

    ‘निद्रा नलाग्ने समस्याले मेरो स्वास्थ्यलाई प्रभाव पारेको छ कि छैन भन्ने मलाई थाहा छैन तर म साधारण मानिसले झैँ खेतबारीमा राम्रोसँग काम गर्न सक्छु,’ थाई नोेगले भियतनामी वेबसाइट थान निन न्युजलाई भने ।

    सन् १९४२ मा जन्मेका थाई नोगका अनुसार २० वर्षको हुँदा उनलाई उच्च ज्वरो आएको थियो । यति बेला उनले पुनर्जीवन पाए तर निद्रा भने गुमाउनुपर्‍यो । थुप्रै पटक स्वास्थ्योपचार गर्दा, पारम्परिक उपाय अपनाउँदा पनि उनी निद्रामा पर्न सकेनन् । निद्रा नलाग्ने आफ्नो समस्या अस्थायी होला भनेर उनले सधैँ सोचे तर अहिले ६० वर्ष बितिसकेको छ । 

    थाई नोगको कथालाई भियतनाममा एक चमत्कार वा एक अद्वितीय महाशक्तिको रूपमा प्रस्तुत गरिएको छ । तर केही डाक्टरले भने सो कुरा मान्दैनन् । डाक्टरले उनी केही समयका लागि निदाएको हुनसक्ने तर उनलाई यसबारे थाहा नभएको पनि हुनसक्ने बताएका छन् । 

    स्लिप सर्भिस अस्ट्रेलियाका डा. विकाश वाध्वाले कोही मानिस जागा र निद्राको अवस्थाबीच फरक छुट्टाउन नसक्दा यस्तो दाबी गर्ने बताएका छन् । उनी भन्छन्, ‘त्यसैले ८० वर्षका ती वृद्ध दिउँसोको समयमा छोटो समयका लागि भए पनि निदाएको हुनसक्छ तर उनलाई यसबारे थाहा नै नभएको हुनसक्छ । यस्ता पावर न्यापले उनलाई दिनभरि काम गर्न ऊर्जा दिइरहेको हुनसक्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार