पृथ्वीको भूमध्यरेखाको आसपास सबैभन्दा धेरै वर्षा हुन्छ भन्ने हामीलाई थाहै छ । यो क्षेत्र दक्षिण अमेरिका, मध्य तथा पश्चिम अफ्रिकाका साथै दक्षिण पूर्वी एसियामा पनि रहेको छ । यसमा पनि एसिया महादेशको भारतस्थित मेघालय सबैभन्दा माथि छ ।
भारतको मेघालय राज्यस्थित मासिनराम विश्वमै सबैभन्दा धेरै वर्षा हुने ठाउँ हो । शिलांगभन्दा करिब ६० किलोमिटर टाढा रहेको मासिनराममा वार्षिक ११ हजार ८७१ मिलिमिटर वर्षा हुन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा यो सहर विश्वको सर्वाधिक वर्षा हुने तथा ओसिलो ठाउँको रुपमा दर्ज छ ।
कम्बोडियाको पनि दाबी
विश्वमा सर्वाधिक वर्षा हुने ठाउँका लागि कम्बोडियाले पनि दाबी गर्दछ । कम्बोडियामा रहेको योरो सहर र भारतको मासिनरामबीच धेरै वर्षा हुने सहरको रुपमा कडा प्रतिस्पर्धा छ । योरो सहरमा वार्षिक १२ हजार ७१७ मिलिमिटर वर्षा हुने दाबी कम्बोडियाको छ । यद्यपि यस्तो दाबी पुष्टि हुन सकेको छैन । पछिल्लो आधुनिक मापनले योरो सहरमा वार्षिक औसतमा ८ हजार मिलिमिटर वर्षा हुने गरेको देखाएको छ ।
दोस्रो स्थानमा चेरापुन्जी
यद्यपि हामीले सामान्यज्ञानका किताबहरुमा अहिले पनि संसारको सबैभन्दा धेरै वर्षा हुने ठाउँ भनेर भारतको चेरापुन्जी नै पढ्दै आएका छौं । मासिनरामको वर्षातको मापन नहुँदै वास्तवमा चेरापुन्जीलाई नै विश्वको सर्वाधिक वर्षा हुने ठाउँ मानिएको थियो । तर, हाल चेरापुन्जी विश्वमा सर्वाधिक वर्षा हुने ठाउँको दोस्रो स्थानमा झरेको छ । यद्यपि अहिले पनि चेरापुन्जीमा कैयन् दिन तथा हप्तासम्म मासिनराममा भन्दा धेरै वर्षा हुने गर्दछ । तर वार्षिक औसत वर्षा भने मासिनराममै बढी हुन्छ । यी दुई ठाउँको दूरी भने जम्मा ८० किलोमिटर छ ।
किन हुन्छ यतिधेरै वर्षा ?
दक्षिणी हिन्द महासागरबाट आउने मनसूनी वायु भूमध्यरेखा पार गरेर म्यानमार तर्फ अघि बढ्छ । त्यहाँबाट उक्त वायु उत्तरतर्फ मोडिएर गंगाको डेल्टा हुँदै खासी पर्वत श्रृंखलासम्म पुग्दछ । सोही मनसुनी वायुले मेघालयको मासिनराम र चेरापुन्जीमा अत्यधिक वर्षा गराउँदछ । यद्यपि वर्षभरमा हुने मध्ये अधिकांस वर्षा मेदेखि अक्टोबरसम्म मात्र हुन्छ । अन्य महिनाहरुमा कम वर्षात हुन्छ र कतिपय महिना चाहिं वर्षा नै हुँदैन ।
चेरापुन्जीमा किन घट्यो वर्षा ?
सन् १९७३ देखि सन् २०१९ सम्मको मौसम विज्ञानको तथ्यांक अनुसार चेरापुन्जीमा हरेक वर्ष ०.४२ मिलिमिटरका दरले वर्षातमा कमी भैरहेको छ । यसका विभिन्न कारणहरु छन् । चेरापुन्जी पहिले जति हराभर थियो अहिले घटेको छ र त्यहाँको जनसंख्या पनि बढेको छ ।
स्याटेलाइट तस्वीरमा पनि वन्यक्षेत्रमा व्यापक परिवर्तन भैरहेको देखिन्छ । जुन हरेक वर्ष १०४ वर्ग किलोमिटरको दरले घटिरहेको छ । साथै स्थानीय मानिसहरुले खेतिपातीको पूरानो तरिका छाडेर आधुनिक पद्धति अपनाउने गरेका छन् । त्यसले पनि वर्षातमा प्रत्यक्ष असर पारेको छ ।
विशेष खालको छाता ओढेर चलिरहन्छ काम
मासिनरामको आकास सधै बादलले ढाकिरहेको हुन्छ । कहिले घनघोर तथा कहिले हल्का वर्षा भैरहन्छ । तर वर्षा भैरहँदा पनि स्थानीय मानिसहरुको काम रोकिँदैन । वर्षातको समयमा मानिसहरु विशेष खालको छाता ओढेर काम गरिरहेका हुन्छन् । यसले टाउको देखि कम्मरको तल्लो भागसम्म ओतेको हुन्छ । त्यो विशेष खालको छाताको नाम कनूप हो ।
यो छातालाई टाउकोमा भिरेर मानिसहरुले काम गर्दछन् । ताडको पातलाई बलियो तथा घना तरिकाले सिलाएर यो छाता तयार गरिएको हुन्छ । यसमा २ वटा तह हुन्छन् ताकि पानी भित्र नछिरोस् । खेतमा होस् वा घरबाहिरका अन्य काम गर्दा किन नहोस् मानिसहरुले आफ्नो टाउकोमा कनूप लगाएकै हुन्छन् ।
संघर्षपूर्ण जीवन
अन्य पहाडी इलाकाहरुमा जस्तै यहाँको जनजीवन पनि संघर्षले भरिएको छ । न त त्यहाँ धेरै उब्जनी हुन्छ, न त खुल्ला ठाउँमा व्यापार गर्न सकिन्छ । खाद्यान्न तथा दैनिक उपभोगका अधिकांस सामानहरू शिलांग सहरबाट आयात गर्नुपर्छ । निकै धेरै आद्रता हुने भएकाले घर तथा पसलका सामानहरुलाई ओसबाट जोगाउनका लागि निकै मेहेनत गर्नुपर्दछ । धेरै वर्षा हुने मौसममा त्यहाँ धोएका कपडाहरु सुकाउन पनि निकै सकस पर्दछ । बाक्लो तथा उनीका कपडाहरु त सुक्दै नसुक्ने हुन्छन् । त्यसैले प्रायः मानिसहरु सिन्थेटिक कपडा लगाउँछन् । हुनेखानेले धोएका कपडाहरु ड्रायरमा सुकाउँछन् ।
ओसका कारण तुरुन्तै बिग्रिहाल्ने बिस्कुटजस्ता खानेकुराको त्यहाँ कुनै काम नै छैन र आवश्यकता पनि छैन । किनकि मासिनराममा अत्यन्तै धेरै मौसमी फलफूल तथा सागपात पाइन्छ । पशुपालन फस्टाएको हुनाले मानिसहरुले आफैले उत्पादन गरेको मासु पनि मनग्गे खान पाउँछन् । यहाँका मानिसहरु बेलुकीमा प्रायः दूध नहालेको चियासँगै विशेष खालको पुलाउ खान्छन् जसलाई सोहरा पुलाउ भनिन्छ ।
एजेन्सीको सहयोगमा