काठमाडौँ, १४ असार । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनः सुनको जलहरी राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि १०७ किलोभन्दा बढी तौलको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनः स्थापित गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको बताइएको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अख्तियारले नापतौल गर्न रुद्रगारेश्वरमा ल्याइएको जलहरी बुधबार साँझ मन्दिरमा लगेर पुनस्र्थापित गरिएको हो ।
असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो ।