वायुयान मानव निर्मित एक अत्याधुनिक यन्त्र वा मेसिन हो, जुन हावासँगको प्रतिक्रिया स्वरूप शून्य आकाशमा रहेर उड्न सक्छ। विना वायु कुनै पनि उडान सम्भव हुँदैन। तसर्थ वायु अर्थात् हावालाई विमान उडानको प्रथम एवं अपरिहार्य शर्त मान्ने गरिन्छ।
वास्तवमा वायुमण्डलमा रहेको वायुको चाल एवं गतिको प्रकृतिको आधारमा वायुयानमा वायुशक्ति उत्पादन गरी मानवीय बुद्धि एवं विवेकको संयोजनमा चाहेको स्थानमा उडान एवं अवतरण गर्न प्रयोग गरिने वैज्ञानिक यन्त्रको नाम वायुयान हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) वायुयानलाई नागरिक र सरकारी गरी दुई भागमा विभाजन गरेको पाइन्छ। सर्वसाधारण व्यक्ति एवं नागरिकले आफ्नो व्यक्तिगत एवं व्यावसायिक प्रयोजनको लागि प्रयोग गर्ने नागरिक वायुयान हुन्।
कुनै देश एवं राज्यले आफ्नो देशको हित अनुकूल सैनिक, युद्ध एवं सरकारी कार्यको लागि प्रयोग गरिने वायुयान स्टेट एअरक्राफ्ट अर्थात् सरकारी वायुयान अन्तर्गत पर्दछन्।
विश्वका प्रत्येक व्यक्तिको आफ्नो राष्ट्रियता भए जस्तै प्रत्येक देशका विमानको आफ्नो देशको दर्ता नम्बर अर्थात् संकेत नम्बर हुने गर्दछ। र त्यस वायुयानको राष्ट्रियता त्यही देशको हुने गर्दछ। तसर्थ कुनै एक विमानले एकभन्दा बढी राष्ट्रमा दर्ता हुन पाउँदैन। तर सम्बन्धित राष्ट्रको राष्ट्रियता त्यागेमा अर्को देशमा नयाँ दर्ता नम्बर लिन पाउने स्वतन्त्रता भने रहिरहन्छ।
हरेक वायुयानले अन्तर्राष्ट्रियस्तरमा प्रचलित नियम एवं कानुनको अनिवार्य रूपमा पालना गर्नुपर्दछ। साथै वायुयान भित्र चालक एवं रेडियो उपकरणहरूको वैधानिक लाइसेन्स, वायुयानको दर्ता प्रमाणपत्र एवं उडान योग्यपनको प्र्रमाणपत्र साथै यात्रु, कार्गो एवं भारको सम्पूर्ण विवरणलाई सुरक्षित तवरबाट राख्नुपर्दछ।
विना वायुयान विमानस्थलको परिकल्पना समेत गर्न सकिंदैन। तसर्थ वायुयान र विमानस्थल बीच नङ र मासुको जस्तो सम्बन्ध रहिआएको हुन् । जुन स्थानबाट विमानले उडान भर्छ एवं जुन स्थानमा विमान अवतरण गर्दछ त्यस स्थानलाई विमानस्थल अर्थात् एअरपोर्ट भनिन्छ।
क्षेत्रगत हिसाबमा विमानस्थललाई दुई भागमा विभाजन गरिन्छ। जसमा जमिनतर्फको भागलाई ल्याण्डसाइड र वायुयान रहनेतर्फको भागलाई एअरसाइड भनिन्छ।
एउटा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय विमानस्थलमा निम्न कुराहरू हुनुपर्दछः
- भूमिस्थ सेवा संचालनको लागि आवश्यक सवारी साधन एवं कर्मचारीहरू।
- हवाई यात्रा गर्ने यात्रुहरूको जनसरोकार विषयमा सम्बोधन गर्ने सरकारी निकायहरू जस्तैः विमानस्थल टर्मिनल विभाग, अध्यागमन कार्यालय, भन्सार कार्यालय, विमानस्थल प्रहरी, स्वास्थ्य संस्था तथा एम्बुलेन्स, लाइभस्टक क्वारेन्टिन, बैंक एवं विदेशी मुद्रा सटही गर्ने संस्था, सूचना तथा संचार आदि निकायको उपस्थिति।
- विमानस्थलमा आइपर्ने आकस्मिक संकट निवारणको लागि तयारी अवस्थामा दमकल अर्थात् अग्नि निवारक यन्त्रको व्यवस्था। अन्तर्राष्ट्रियस्तरको उपकरणले सुसज्जित एअर ट्राफिक कन्ट्रोल भवन एवं विमानस्थलको टर्मिनल भवन।
- विमानस्थलका यात्रुहरूलाई आराम गर्ने स्थान एवं चिया, नास्ताको लागि पसलहरूको व्यवस्था।
- सहज इन्धन आपूर्ति एवं कार्गो, मेल, ब्यागेज आदिको प्रभावकारी व्यवस्थापन आदि।
- एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि संरचना, उपकरण, इन्जिनियरिङ एवं प्रशासनिक कार्यको लागि राज्यको अरबौं रकम खर्च हुन्छ । - निर्माण पश्चात् यसको प्रभावकारी संचालनको क्रममा आइपर्ने अवसर र चुनौतीको पहिचान गर्न नसक्दा अर्बौ लगानी भएका विमानस्थलहरू खण्डहरमा परिणत हुने त हैनन् भन्ने आमजनमानसमा आशंका जन्मिएको छ।
विमानस्थल निर्माणलाई विकासको उच्चतम नमूना देख्ने हाम्रो देशका अदूरदर्शी नेतृत्वको कार्य अक्षमतालाई हेर्न मे २०२२ मा करिब १० अर्बको लागतमा निर्माण सम्पन्न सकेर सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र जनवरी २०२३ मा करिब २२ अर्बको लागतमा निर्माण सम्पन्न सकेर संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरे पुग्छ। जसलाई नेपाल सरकारले छिमेकी राष्ट्र भारत र चीनसँग गरेको असफल कूटनीतिक सम्बन्धको एक अनुपम उदाहरणको रूपमा लिन सकिन्छ।
नेपालमा विमानस्थल निर्माण र संचालनलाई राजनैतिक दाउपेचसँग जोड्ने अभ्यास संस्थागत भइरहेको छ। यद्यपि अहिले हवाई उड्डयनको विश्व बजार तीव्र प्रतिस्पर्धात्मक रूपमा चलिरहेको छ।
व्यावसायिक एवं व्यक्तिगत रूपमा सञ्चालित हजारौं वायुयान प्रत्येक मिनेट एक स्थानबाट अर्को स्थानमा उडान एवं अवतरण गरिरहेका छन्।
इन्टरनेशनल एभिएसन जर्नललाई आधार मानेर नियाल्दा हाल विश्वमा प्रत्येक दिन १ लाख भन्दा बढी हवाई उडान एवं अवतरण हुने गर्दछन्। जसमा करिब ६० लाखभन्दा बढी यात्रुहरूले यात्रा गरेको तथ्यांकले देखाउँछ। जुन तथ्याङ्क विश्वको जनसंख्याको करिब ०.१ प्रतिशत हुन जान्छ।
त्यस्तै सेन्ट्रल इन्टेलिजेन्सीको आँकडालाई आधार मान्दा हाल विश्वमा करिब ४१ हजार ७०० विमानस्थल निर्माण भएका छन् जसमध्ये करिब १४ हजार ३०० विमानस्थल अमेरिकामा मात्रै रहेको पाइन्छ भने नेपालमा यसको संख्या ५५ रहेको छ।
विमानस्थलबाट स्वदेश एवं विदेशका विभिन्न स्थानको यात्रा सुरुवात हुन्छ। तसर्थ विमानस्थललाई विश्वको ढोका भन्ने गरिन्छ। त्यस्तै विमानस्थललाई सारा विश्वब्रह्माण्डलाई एकत्रित गरेर देशहरूको आर्थिक, राजनैतिक, सामाजिक एवं भौगोलिक सम्बन्धलाई प्रगाढ बनाई राख्ने एक महत्वपूर्ण सेतुको रूपमा पनि परिभाषित गर्न सकिन्छ।
कुनै देशले कुनै देशलाई आक्रमण गर्नुपरेमा सबैभन्दा पहिलो निशानामा उसको विमानस्थल नै पर्दछ। सबैभन्दा पहिला सैनिक अखडामा नभएर हवाई अखडामा आक्रमण गरेर विमानस्थललाई ध्वस्त बनाउनु र हवाई यातायातलाई अवरुद्ध पार्नु उनीहरूको सफलताको कारक तत्व बन्न पुगेको छ। र, यो कार्यलाई देशहरूले युद्ध सफल बनाउने रणनीति अन्तर्गत पनि प्रयोग गरिरहेका छन्।
वास्तवमा मानवीय हित, आधुनिक युग एवं समुन्नत समाज स्थापनाको परिचय दिंदै समग्र विश्वलाई एकत्रित बनाई स्थापना भएका विमानस्थलहरू संसारकै अत्यन्त महत्वपूर्ण एवं संवेदनशील क्षेत्र भित्र पर्दछन्। तसर्थ, समुन्नत समाज एवं नैतिकवान विश्व निर्माणको लागि विश्वस्तरबाट नै विमानस्थललाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्न पहल गर्नुपर्ने देखिन्छ।