सोमबार, मंसिर ३ गते २०८१

शिवशिखर सहकारी घोटाला प्रकरण : डिपार्टमेन्ट स्टोर र खाद्यान्न डिलर देखाउँदै पैसा उठाउँदै

शिवशिखर सहकारी घोटाला प्रकरण : डिपार्टमेन्ट स्टोर र खाद्यान्न डिलर देखाउँदै पैसा उठाउँदै

अखबार दैनिक
बुधबार, असार १३ २०८०
  • शिवशिखर सहकारी घोटाला प्रकरण : डिपार्टमेन्ट स्टोर र खाद्यान्न डिलर देखाउँदै पैसा उठाउँदै

    १३ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा-८ का विमलकुमार श्रेष्ठ गाउँकै शिवपुरमा चामल र पशु दानाको पसल चलाउँदै आएका छन् । उनको पसलमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बजार प्रतिनिधि सदस्य बन्न अनुरोध गर्दै दिनको एकपल्ट आउँथे । श्रेष्ठले ३-४ पटक सदस्य बन्दिनँ भनेर फर्काइदिए । तर पनि सहकारीका कर्मचारी धाउन छाडेनन् । उनले सहकारीको बुटवलको योगीकुटीमा ठूलो डिपार्टमेन्ट स्टोर र मणिग्राममा खाद्यान्नको डिलर छ, सहकारीको सदस्य बनेपछि दुबै ठाउँबाट सामान खरिदमा छुट हुन्छ भनेर लोभ्याए ।

    images

    श्रेष्ठले बुटवल उपमहानगरपालिका-१०, योगीकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलरसम्म पुगेर सोधपुछ गरे । त्यो शिवशिखरकै रहेको थाहा पाएपछि विश्वास लाग्यो र सहकारीको सदस्य भए । ‘आफ्नो पसल पनि भएकाले चामल खरिदमा छुट होला भनेर सदस्य बनेको हुँ,’ श्रेष्ठले भने, ‘त्यतिबेला सहकारीमा समस्या पनि देखिएको थिएन, डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर पनि सहकारी सञ्चालककै हो भन्ने थाहा पाएपछि विश्वास लागेर बचत गर्न थालेको हुँ ।’

    सदस्य बनेपछि एक वर्षे मुद्दति खातामा रकम जम्मा गर्न थालेका श्रेष्ठ एक वर्ष पुगेपछि रकम लिन जाँदा सहकारीका व्यवस्थापकले जम्मा भएको १ लाख १५ हजार १२१ रुपैयाँ स्मार्ट वचत खातामा ट्रान्सफर हुन्छ र २५ हजारका दरले चेकमार्फत भुक्तानी पाउनुहुन्छ भनेर फर्काइदिए ।

    त्यसपछि पनि श्रेष्ठले एक हजार ५०० रुपैयाँ जम्मा गरिरादे । ‘चेक लिन चारपटकसम्म सहकारीको कार्यालय गएँ तर कार्यालय बन्द थियो, डिपार्टमेन्ट स्टोर पनि बन्द भइसकेको रहेछ,’ श्रेष्ठले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दियौं, तर दुःख गरेर जम्मा गरेको रकम डुब्ने हो कि भन्ने पिरलो छ ।’

                                                                                          ०००

    तिलोत्तमा-११ शिवपुरका लक्ष्मण चौधरीको फोटो स्टुडियो छ । उनको पसलको छेउमै तिलोत्तमा र देवदहका स्थापित सहकारीका शाखा छन् । तर, उनकोमा शिव शिखर सहकारीका बजार प्रतिनिधि दिनहुँ सदस्य बन्न अनुरोध गर्दै धाएपछि सदस्य बने ।

    लक्ष्मणले श्रीमती निरुको नाममा खाता खोलेर दैनिक २०० रुपैयाँका दरले रकम जम्मा गर्न थाले । जसमा २३ हजार रुपैयाँ जम्मा भएको थियो । ‘दिनको सय रुपैयाँदेखि बढीमा आफू खुशी बचत गर्न पाइन्छ, पछि काम पर्दा एकमुष्ठ निकाल्न पाइन्छ, ब्याज पनि हुन्छ भन्दै धेरै कर गरेपछि ठीकै छ नि त भनेर सदस्य बनेको होे,’ चौधरीले भने, ‘पैसा चाहिएर माग्न जाँदा एक महिनापछिको मिति राखेर चेक दियो । पछि साट्न जाँदा सहकारी नै बन्द भएछ ।’ सहकारीमा जम्मा गरेको बचत फिर्ता नहुँदा घर व्यवहार चलाउनै समस्या भएको चौधरी बताउँछन् ।

                                                                                        ०००

    तिलोत्तमा-८ का मुकुन्द चालिसेको शिवपुर नजिकै किराना पसल छ । उनले पनि शिव शिखर सहकारीको मातृ संस्था शिखर अर्गनाइजेसनको डिपार्टमेन्ट स्टोर र खाद्यान्न डिलर छ भन्ने थाहा पाएर सहकारीको सदस्य बने । सहकारीमा १८ हजार २०० रुपैयाँ जम्मा गरेका मुकुन्द चालिसेको परिवारका ५ जनाले शिखर अर्गनाइजेसनमा १० लाख रुपैयाँको शेयरसमेत राखेका छन् ।

    ‘संस्था ठूलो छ राम्रो बिजनेस गरेको छ शेयर पनि राख्दा धेरै राम्रो हुन्छ भनेपछि विश्वास गरियो,’ चालिसेले भने, ‘अहिले सहकारीको बचत त डुब्यो नै १० लाख शेयर पनि डुब्छ कि भन्ने चिन्ता छ ।’

                                                                                          ०००

    तिलोत्तमा नगरपालिकामा कस्मेटिक उद्योग सञ्चालन गर्दै आएका काशीराम गौतम र उनका साझेदारहरूले पनि शिवशिखर बहुउद्देश्यीय सहकारीमा सदस्य बनेर दैनिक बचत गरे । उद्योगका तीन जना साझेदारका तीनवटा र उद्योगको एउटा गरी चारवटा खातामा १६ लाख रुपैयाँ जम्मा भएको छ ।

    काशीरामका अनुसार केही वर्ष बचत गरेर व्यवसाय विस्तार गर्ने योजना थियो । तर सहकारी बन्द भएपछि अहिले उनीहरू रकम डुब्ने चिन्ताले पिरोलिएका छन् ।

    ‘राम्रो ठाउँमा डिपार्टमेन्ट स्टोर, खाद्यान्नको देशव्यापी चेन बिजनेस देखेपछि यसरी बद्मासी होला भन्ने कल्पनै गरेनौं,’ काशिरामले भने, ‘बचत रकम फिर्ता हुने हो कि होइन भन्ने अन्योलले साझेदारबीच नै मनमुटाव भएर उद्योग चलाउनमै समस्या देखिएको छ ।’

                                                                            ०००

    बुटवलको कालिकानगरमा चियाखाजा पसल चलाउने कमला पाण्डेले तीन जना छोराछोरीको नाममा तीनवटा खाता खोलेर प्रत्येक खातामा १०५ रुपैयाँका दरले दैनिक ३१५ रुपैयाँ बचत गरिन् । उनको बचत ९० हजार रुपैयाँ छ । बचत निकाल्न उनी सहकारीको कार्यालयमा दुई महिनाभन्दा बढी धाइन् तर पैसा पाएकी छैनन् ।

    ‘१४ प्रतिशत ब्याज दिन्छौँ, धितोविना पाँचलाख रुपैयाँसम्म ऋण दिन्छौँ भनेर फकाएर खाता खोल्न लगाए,’ कमलाले भनिन्, ‘पैसा चाहिएर फिर्ता लिने बेला अफिस बन्द छ, कर्मचारी पनि आउन छाडे ।’

    छैन एकिन तथ्यांक
    बुटवलका राम जयसवालले गत वर्ष श्रीमती जानकीकुमारी कानुको नाममा खाता खोलिदिएका थिए ।

    २०७८ साल पुसमा शेयर बापत १० हजार र मासिक बचतबापत् एकैपटक ११ हजार रुपैयाँ बुझाएका उनले दैनिक कम्तीमा १०० रुपैयाँ र कुनै दिन त १० हजार रुपैयाँसम्म जम्मा गरेको बताउँछन् । तर, खातामा शेयरबापत् ५०० रुपैयाँ मात्रै देखिएको भन्दै उनले दैनिक बचतको हिसाबमा पनि अपचलन भएको शंका गरेका छन् ।

    बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५-१६ जना वचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बताए ।

    लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए ।

    अनुगमन नहुँदा समस्या
    शिवशिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरको कौशलटारमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । बचतकर्ताहरूको गुनासोबारे प्रतिक्रिया लिन उक्त सहकारीको बुटवल शाखाका व्यवस्थापक प्रदीप श्रेष्ठलाई फोन गर्दा उनको मोबाइल फोन अफ छ ।

    शिवशिखर सहकारीले लाखौैं जनताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन् ।

    रुपन्देहीका सहकारी अभियन्ता ईश्वरी मरासिनी सम्बन्धित सरकारी निकायको खुकुलो दर्ता नीति र अनुगमन शून्य हँुदा अधिकांश बहुउद्देश्यीय सहकारीमा समस्या देखिएको बताउँछन् । ‘अर्कातिर स्थानीय व्यक्ति सञ्चालक नभएका, संस्था दर्ता र केन्द्रीय कार्यालय बाहिरी जिल्ला वा प्रदेशमा भएका सहकारी संस्थाका सञ्चालक र कर्मचारीका गुलिया आश्वासनलाई विश्वास गर्दा सर्वसाधारणहरु ठगिन पुगेका छन्,’ मरासिनीले भने, ‘बचतकर्ताहरु ठगिनुमा मुख्य रुपमा नियमित अनुगमन नहुनु हो, यसमा सम्बन्धित सरकारी निकाय जिम्मेवार हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ