असार सुरु भएसँगै काठमाडौँ उपत्यकासहित देशभर किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाडौँ उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यति बेला किसानहरू व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यति बेला किसानहरू धान रोप्न व्यस्त छन् । उनीहरू जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाइँमा व्यस्त भएको बताउँछन् ।
सामान्यतया असार १५ बाट रोपाइँ सुरु हुने भए पनि असारको पहिलो सातादेखि नै किसानहरू रोपाइँको चटारोमा छन् । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष भने जेठ अन्तिमबाट वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाइँ भइसकेको किसानहरू बताउँछन् ।
सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार शुुरु हुने बित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरू यस वर्ष धान रोपाइँ छिटो भएपछि खुसीमा भएका छन् ।
खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेको उनीहरूको भनाइ छ । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसान डराएका छन् । धान रोप्न र हिलो ठम्याउन आवश्यक प्रविधि भित्र्याउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सक्ने उनीहरूको भनाइ छ ।