एक अभिभावक भन्ने गर्छन्, ‘मेरा छोराछोरी खुलेर रमाउँदैनन् । घरमा पाहुना आयो भने पनि बोल्दैन । साथीभाईसँग खेल्न जाँदैन । कोठामा एक्लै बसिरहन्छ ।’
यो उनको मात्र होइन, धेरै अभिभावकको साझा गुनासो हो । उनीहरु भनिरहेका हुन्छन्, ‘मेरा छोराछोरी परिवारमा घुलमिल हुँदैनन् । एकान्तमा वस्न रुचाउँछन् ।’
विगतमा यस्तो थिएन । छोराछोरीहरु आ-आफ्ना जिम्मेवारीको काम गर्थे । परिवारसँग रमाउँथे । घरमा पाहुनापात आउँदा फुरुंग हुन्थे । बिहे, भोजमा उमंगसाथ सरिक हुन्थे । चाडपर्वमा उत्साहित हुन्थे । तर, अहिले धेरैका छोराछोरी यसरी उमंगसाथ हाँसेको, खेलेको, रमाएको देखिदैन ।
उनीहरु एक्लो र उदास छन् । परिवार, साथीभाईसँग अलग भएर आफ्नै संसारमा हराइरहेका छन् । आखिर उनीहरुको संसार कहाँ छ ?
उनीहरु भर्चुअल संसारमा हराइरहेका छन् । सहजै उपलब्ध मोवाइल, ल्यापटप जस्ता उपकरण र इन्टरनेटको पहुँचले उनीहरुलाई अलग संसारमा पु¥याएको छ । मोवाइलमा गेम खेल्ने, भिडियो हेर्ने, सामाजिक सञ्जालमा मग्न हुँदा हुँदै थाहै नपाई उनीहरु यसको तलमा परिसकेका छन् ।
भर्चुअल संसारमा देखिने कुराहरुले उनीहरुको अपेक्षा बढाइदिएको छ । भिडियोमा आफुले हेरेजस्तै, देखेजस्तै सुविधा, वस्तु प्राप्त र उपभोग गर्न चाहन्छन् । वास्तविक जीवनमा त्यस्तो कुरा नपाउँदा उनीहरु दुःखी भएका छन् । किनभने भर्चुअल संसार र उनीहरुले बाँच्ने धरातल धेरै फरक छ । तर, उनीहरु यसरी एकोहोरिएका छन् कि आफ्नो वास्तविक धरातल के हो भनेर भेउ नै पाइरहेका छैनन् ।
आफ्ना किशोर छोराछोरीको यस्तो मनोदशा आमाबुवाले पनि बुझ्न सकेका छैनन् । किन छोराछोरी खुसी छैनन्, किन छोराछोरी आफुसँग बोल्न रुचाउँदैनन्, किन एक्लै बस्न चाहन्छन् भन्ने समस्याको जरा पनि पहिल्याउन सकेका छैनन् आमाबुवाले । त्यसैले अहिले छोराछोरी र आमाबुवावीचको दूरी बढ्दो छ । उनीहरुवीच संवाद भएको छैन । दुबैको आपसमा हार्दिक मेलमिलाप छैन ।
एकातिर आफुले चाहे जस्तो नपाउनु र अर्कोतिर आफ्नो मनोभावलाई आमाबुवाले पनि सही रुपमा नबुझ्नुको परिणाम किशोर छोराछोरीहरु डिप्रेसन, एन्जाइटीले ग्रस्त हुँदैछन् । उनीहरुलाई आफु बाँच्नुको अर्थ नै नभएको महसुष हुन थालेको छ । जसले गर्दा यी किशोर छोराछोरीहरु आत्महत्याको निर्णयमा पुग्ने गरेको पाइन्छ ।
विभिन्न अध्ययनले भन्छ, १० देखि २४ बर्ष उमेर समूहका छोराछोरीमा आत्महत्या मृत्युको दोस्रो प्रमूख कारण हो । किशोरावस्था चन्चल र धेरैजसो लहडमा लाग्ने खालको हुन्छ । यतिबेला उनीहरु अपरिपक्क निर्णय लिन्छन् र सजिलै अनेक फन्दामा पर्न सक्छन् । जब उनीहरु समस्यामा पर्छन्, त्यसबाट उम्कने एउटै बाटो सोच्छन्, आत्महत्या ।
किन उनीहरु आफ्नो जीवनलाई त्यती सजिलै समाप्त गर्न उक्सन्छन् ? यसमा उनीहरुको वद्लिइरहने भावनात्मक स्थितीदेखि सजिलै पुरा नहुने अपेक्षा, साथीभाईसँगको विग्रदो सम्बन्ध, सामाजिक सञ्जालमार्फत हुने अनेक झमेला, क्षणिक आवेगमा गरेका गंभिर गल्तीहरु जिम्मेवार छन् ।
यी लक्षण देखिए गंभिर हुनुपर्छ
छोराछोरी सधै निरास हुने, एक्लै बस्ने गर्छ भने त्यसले राम्रो संकेत गर्दैन ।
खाने, सुत्ने, घुलमिल हुने कुरामा उनीहरुको बानी परिवर्तन हुँदै जान्छ, विद्यालय र घरको काम गर्दैनन् भने बुवाआमाले उनीहरुलाई यत्तिकै छाड्ने गल्ती गर्नुहुँदैन ।
अब के गर्ने त ?
किशोर उमेरका छोराछोरीका बारेमा बुवाआमा सचेत हुन जरुरी छ । छोराछोरी के गर्दैछन् ? किन उदास छन् ? किन एक्लै बस्न रुचाउँछन् ? थाहा पाउनुपर्छ । साथै उनीहरुसँग घुलमिल गर्ने, बातचित गर्ने प्रयास गर्नुपर्छ ।
आफ्नो बालबच्चा कस्तो मनोदशाबाट गुज्रिरहेका छन् ? के उनीहरु थाहै नपाई गेमको लतमा परेका छैनन् ? कतै उनीहरुलाई सामाजिक सञ्जालबाट आफ्नै साथीले ब्ल्याकमेलिङ गरिरहेका छैनन् ? यावत् कुरामा अभिभावक चनाखो हुनैपर्छ । आफ्ना छोराछोरीको मन र भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ । उनीहरुसँग संवाद गर्नुपर्छ । उनीहरुको विश्वास जितेर प्रेममय सम्बन्ध बनाउनुपर्छ ।
घरको वातावरणले पनि यसमा धेरै प्रभाव पार्छ । त्यसैले घरको वातावरण शान्त, हार्दिकतापूर्ण हुनुपर्छ । खाने, बस्ने, सुत्ने तालिका निश्चित हुनुपर्छ । योग, व्यायाम, ध्यान जस्ता विधिलाई जीवनशैलीको हिस्सा बनाउनुपर्छ । यस किसिमको माहौलले पनि उनीहरुलाई नराम्रो कुराबाट ध्यान भंग गराएर राम्रो कुरामा प्रेरित गर्छ ।