काठमाडौँ । कलाकार दीपकराज गिरीले दलहरूले जनअपेक्षा विपरीत काम गरेको बताएका छन् । देशमा परिवर्तन अनेक भए पनि राजनीतिक परिवर्तन भने हुन नसकेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस पोस्ट गर्दै गिरीले देशमा भएको परिवर्तनले जनताको अवस्थामा खासै केही परिवर्तन नआएको समेत उल्लेख गरेका छन् ।
‘धनी हरेक दिन धनी बन्दै गए, गरिब झन् झन् गरिब, पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने, तर भुईँ मान्छेको लागि सामान्य भन्दा सामान्य कुरा पनि दुर्लभ हुन थाल्यो !’, गिरी अगाडि लेख्छन्, ‘दलहरू र तिनका कार्यकर्ताको तडक भडक शैली ले उनीहरूमा झन् नैराश्यता निम्त्यायो !’
राष्ट्रवादी अर्को राष्ट्रघाती भएको उल्लेख गरेका दीपकले एकले अर्कोलाई राष्ट्रघाती भन्ने अर्कोले अर्कोलाई तानाशाह भन्ने भिडन्तको सङ्केत भएको समेत बताएका छन् ।
यस्तो छ दीपकको पोस्ट
आज म लेख्दैछु :
मलाइ लाग्छ हामी गम्भीर मोडमा आइपुगेका छौ !
जनताको जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यसको ठिक विपरीत काम गरेकै हो !
देशमा परिवर्तन अनेकौँ भए तर ती केबल राजनीतिक परिवर्तन मात्रै थिए !
जनताको अवस्थामा खासै केही परिवर्तन आएन धनी हरेक दिन धनी बन्दै गए गरिब झन् झन् गरिब, पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने, तर भुईँ मान्छेको लागि सामान्य भन्दा सामान्य कुरा पनि दुर्लभ हुन थाल्यो !
दलहरू र तिनका कार्यकर्ताको तडक भडक शैली ले उनीहरूमा झन् नैराश्यता निम्त्यायो ! पछिल्लो कोभिडको समय पछि स्थिति झनै भयावह हँदै गयो, सर्वसाधारणहरूले चर्को अभाव र गरिबी झेल्नुपर्यो ! फलस्वरूप: पासपोर्ट लिनेहरूको लाइन, हरेक सोमबार पशुपतिनाथमा दर्शन गर्नेहरूको लाइनभन्दा लामा हुन थाले ! हाम्रो एयरपोर्ट कुनै ट्रेन स्टेसन जस्तो लाग्न थाल्यो !
सबैतिरको यो बेथिति, विसङ्गति र अभावविरुद्ध आफ्ना आवाजहरू बुलन्द गरेर केही नयाँ व्यक्ति र शक्तिहरूको उदय भयो । त्यो स्वाभाविक पनि थियो ! जसरी जनताका यस्तै अभाव असन्तुष्टि को प्रतिनिधित्व गरेर कुनै समय कांग्रेस एमाले माओवादीहरूले लामो समयसम्म शासन गर्ने मौका पाए !
ठिक त्यसै गरेर अहिलेको अवस्थामा जनताको आशा भरोसा नयाँ अनुहारहरूमा केन्द्रित भएको छ, उनीहरूमा जनताको विश्वास र भरोसा बढ्दै गयो ! यी नयाँ व्यक्ति र शक्तिहरूप्रति जनताको मुख्य आकर्षण भनेको नै दलहरू प्रतिको वितृष्णा नै हो !
नयाँ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो , त्यो स्वाभाविक पनि हो !
हरेक गरिब र कमजोर मुलुकमा सबैभन्दा चॉढै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो ! अब यसरी उदाएका शक्तिहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ !
जनता पनि जसले ठुलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वाभाविक हो ! देश आखिर देश नै हो !
झन् पछिल्लो समय जुन घटना घट्यो, त्यसले मलाइ के लाग्छ भने पहिचानका लागि अब देशमा २ शक्तिहरू मात्रै बाँकी हुनेछन् !
राष्ट्रवादी अर्को राष्ट्रघाती
एकले अर्कोलाई राष्ट्रघाती भन्ने अर्कोले अर्कोलाई तानाशाह भन्ने ! जुन सङ्केत भिडन्तको सङ्केत हो ! संहारको सङ्केत हो ! अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर, मुद्दा अन्तै मोडिनेछ !
अब हामी देश विकासको लागि होइन को बढी देशभक्त हो भनेर लड्ने छौ ! अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई !
पहिला हाम्रा पुर्खा राष्ट्रको लागि विदेशीसँग लडे !
अब हामी राष्ट्रियताको नाममा आफू आफू लड्ने छौ ! यसबाट जुन पक्षले जिते पनि देशले चाहि हार्नेछ ! समय छँदै यो विनाशकारी प्रतिस्पर्धाबाट बाहिर आएर एकले अर्को को विचारको सम्मान गर्दै दलिय र व्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको विद्यमान समस्याहरूविरूद्ध जित हासिल गरेर देश अगाडि बढाउन सकिएला नत्र यही शैलीमा अघि बढे ‘‘जय पशुपतिनाथ !! जय नेपाल !!