धनगढी : बझाङमा सुदूपश्चिम सरकारका मन्त्री चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
आज (मंगलबार) दिउँसो १ बजेर ४५ मिनेटमा बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर-१ स्थित कालंगा नदी किनारमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहमन्त्री चढेको गाडी खस्दा दुर्घटना भएको हो।
प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी नदी किनारमा खसेको हो। डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी सडकबाट ५० मिटर तल कालंगा नदी किनारमा खसेको थियो।
दुर्घटनामा मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा चालक धर्मराज जोशी‚ मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह (महिला) र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन्।
खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकीको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। सबैको अवस्था गम्भीर रहेको बताइएको छ।