काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूलाई आक्रमण गर्ने माथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध अनशन थालेका छन् ।
उपप्राध्यापक प्रेम चलाउने आज त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयअगाडि अनशन थालेका हुन् । यसअघि सरकारको निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालतमा आमरण अनशन गर्न पुगेका चलाउनेलाई प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन थियो । तर सरकारले चलाउनेलाई आक्रमण गर्नेमाथिको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी त्यसको विरोधमा अदालत पुगेका थिए ।
उनलाई त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।