सोमबार, मंसिर ३ गते २०८१

भारतबाट गोलभेंडा भित्रिएकै कारण नेपाली उत्पादनले मूल्य नपाएको हो ?

भारतबाट गोलभेंडा भित्रिएकै कारण नेपाली उत्पादनले मूल्य नपाएको हो ?

अखबार दैनिक
मंगलबार, असार ५ २०८०
  • भारतबाट गोलभेंडा भित्रिएकै कारण नेपाली उत्पादनले मूल्य नपाएको हो ?

    काठमाडौं । आइतबार कालिमाटी बजारमा सयौं किलो गोलभेंडा फ्याँकिए पछि नेपाली समाज पुनः एक पटक कृषि उपजमा नेपाल र भारतको वस्तुको प्रभावबारे बहस सुरु भएको छ । भारतीय तरकारी निर्वाध काठमाडौं आएको तर नेपाली किसानको उत्पादनले बजार नपाएर फ्याँकिन परेको भन्दै भारतीय उत्पादनमा रोक लगाउन माग गर्दै सरकारको आलोचना भइरहेको छ ।

    images

    मुलुकमा धेरै तरकारी उत्पादन हुनेमध्येको काभ्रेको पाँचखाल नगपालिकाका प्रमुख महेश खरेल नेपाली किसानले उत्पादन गरेको गोलभेंडाले मूल्य नपाएको दाबी गर्छन् ।  ‘हाम्रो क्षेत्रका किसानले उत्पादन गरेको गोलभेंडाले बजार नपाएर बिकेको छैन, कालिमाटी बजारमा भारतीय गोलभेंडा ४० रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।’

    नेपाली उत्पादनको गोलभेंडा बिक्री नहुनुको कारण भारतीय गोलभेंडा नै हो त भन्ने जिज्ञासामा उनले अन्य कारण नभएको प्रष्ट्याए । नगर प्रमुख खरेलले कृषि उपजको सही वितरणका लागि केन्द्र सरकारले पहल गर्नु पर्ने भन्दै आफ्नो उत्पादन पर्याप्त रहेको अवस्थामा आयात निरुत्साहित गर्नु पर्ने बताए । ‘आफ्नो कृषि उपज पर्याप्त भएको बेलामा भारतबाट गोलभेंडा आयात गर्नु उपयुक्त होइन,’ खरेलले भने ।

    कालिमाटीमा फ्याँकिएको गोलभेंडालाई देखाएर सामाजिक सञ्जालभरि भारतीय तरकारी आयात रोक्नु पर्ने माग उठेको छ । तरकारी पोख्ने कार्यमा संलग्नहरुले समेत भारतीय उत्पादनका कारण नेपाली कृषि उपज नबिकेर फ्याँक्नु परेको दाबी गरिएको छ । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कालीमाटी तरकारी तथा फलफूल विकास समितिकाअनुसार सत्य भने त्यस्तो होइन ।

    समितिका अनुसार अहिले समितिले आफ्नो दैनिक बजार मूल्य सूचनामा गोलभेंडाका तीन वटा मूल्य सूची सार्वजनिक गर्ने गरेको छ । जसमा पहिलो नम्बरमा छ गोलभेंडा ठूलो (नेपाली), दोस्रोमा गोलभेंडा ठूलो (भारतीय) र गोलभेंडा सानो (टनेल) ।

    समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीकाअनुसार बजार मूल्यमा भारतीय गोलभेंडा राख्नुमा खास कारण छ । बजारमा अहिले रहेका मध्ये ९९ प्रतिशत गोलभेंडा नेपाली उत्पादन रहेको पुडासैनीले बताए । काठमाडौमा अहिले यहाँका केही फर्मबाहेक, धादिङ, काभ्रे, चितवन, सर्लाही, नुवाकोटबाट गोलभेंडा भित्रिरहेको छ । वैशाख दोस्रो सातादेखि नेपालमा गोलभेंडाको उच्च उत्पादन सुरु भएसँगै भारतीय गोलभेंडाको आयात लगभग ठप्प जस्तै रहेको उनको दाबी छ ।

    अहिले भारतबाट सातामा मुस्किलले एक दुई टन गोलभेंडा काठमाडौं आउने गरेको र त्यो पनि उपभोक्ताको खपतका लागि नभएको समितिले जनाएको छ । समितिका उपनिर्देशक एवम् सूचना अधिकारी बिनय श्रेष्ठका अनुसार तारे होटलहरुमा सलादको रुपमा प्रयोग गर्न मात्रै यस्तो गोलभेंडा नेपाल आइरहेका छन् । नेपालमा निकै कम मात्रामा उत्पादन हुने यस्तो गोलभेंडाको माग अहिले भारतीय बजारबाट भइहेको छ ।

    अहिले धेरै खपत रहेको र अधिक मात्रामा उत्पादन भएको सानो गोलभेंडा करिब २ महिनादेखि एक दाना मात्रै पनि आएको नदेखिएको श्रेष्ठले बताए । नेपाली उत्पादका कारण नेपालमा डेढ महिनादेखि भारतीय उत्पादन विस्थापित भएको उनको भनाइ छ । नेपालमा प्रतिक्रेटमा २ सय रुपैयाँ नेपालीमा बिक्री भएको उस्तै प्रकारको गोलभेंडाको मूल्य भारतको आजदपुर मण्डीमा २ सय भारु छ ।

    नेपालमा गोलभेंडा लगायतका वस्तु आयात हुने आजादपुर मण्डीमै नेपालमा भन्दा महँगोमा गोलभेंडा बिक्री भएका कारण नेपालमा भारतीय गोलभेंडा आएकै छैन । ‘अहिले तारे होटलले खपत गर्ने सानो परिमाणको ठूलो गोलभेंडा केही मात्रामा आएका छन् । त्यसलाई पनि सर्लाही जिल्लाको उत्पादनले विस्थापित गर्दै गरेको देखिन्छ,’ श्रेष्ठले भने, ‘अन्य दैनिक घरायसी प्रयोगको गोलभेंडा एक दान पनि भित्रिएको छैन ।’ बजार विकास समितिकाअनुसार ३ जेठदेखि ३ असारको बीचमा ठूलो गोलभेंडा (नेपाली–भारतीय दुवै) को आयात बजारमा २० प्रतिशतले घटेको छ ।

    पहिले दैनिक ३१ सय किलो हाराहारी भित्रिने यस्तो गोलभेंडा अहिले घटेर दैनिक दैनिक २१ सय किलो औसतमा झरेको छ । यसमा नेपाली र भारतीय दुवै गोलभेंडा पर्ने समितिले जनाएको छ । यस्तै, बजारमा अधिक मात्रामा रहेको सानो गोलभेंडाको बजार आगमन ३८ प्रतिशतले बढेको छ । दैनिक ६४ हजार किलो भित्रिने गरेको यस्तो नेपाली गोलभेंडा अहिले बढेर ९५ हजार किलो दैनिक पुगेको छ । शनिबार बजारमा एकैदिन ९५ हजार ५५० किलो गोलभेंडा आएको थियो भने शुक्रबार ७८ हजार किलो गोलभेंडा भित्रिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ