१ असार, काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने क्रिकेट विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला जिम्बाव्वेमा छ ।
लिग टु को पछिल्लो सफलता र एसिया कपमा छनोट भएपछि उच्च मनोबलमा रहेको नेपाली टोलीले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेर जिम्बाव्वे पुगेको हो । दक्षिण अफ्रिकामा खेलेका तीनवटै अभ्यास खेलमा पराजित भएको नेपालले जिम्बाव्वेमा यूएईसँगको खेल हारेको छ भने ओमानसँगको खेल जितेको छ ।
अब मुख्य प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो होला भन्ने सबैलाई चासो छ ।
नेपालले विश्वकप छनौटमा पूर्वविजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्बाव्वेसँग कस्तो खेल्ला भने चासो सबैलाई छ । नेपालकै समूहमा रहेका एसोसिएट राष्ट्र नेदरल्याण्ड्स र अमेरिका भने नेपालका लिग चीर परिचित टिम हुन् ।
अर्को समूहमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् ।
दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा प्रवेश गर्नेछन् । सुपर सिक्समा शीर्ष २ मा रहने टोलीले भारतमा हुने विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्ने छन् ।
नेपालले ३ असारमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इन्डिज र ९ असार मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालको सबै खेल हरारे शहरमा हुनेछ ।
सुपर सिक्समा पुग्दन नेपाललाइ समूहमा शीर्ष तीनमा रहनु पर्ने छ । सुपर सिक्समा अर्को समूहबाट आएका तीन टिमसँग थप ३ खेल खेल्न पाउनेछ ।
जिम्बाव्वेसँग नेपालको हेट डु हेड
नेपालले जिम्बाव्वेसँग पाँच वर्षपछि पहिलो पटक ५० ओभरको क्रिकेट खेल्न लागेको हो भने ओडीआई मान्यता प्राप्त पहिलो ।
यसअघि सन् २०१८ मार्चमा जिम्बाव्वेमै भएको विश्वकप छनोटमा नेपालले जिम्बाव्वेसँग खेलेको थियो । त्यसबेला नेपालको ओडीआई मान्यता थिएन । त्यही छनोटमा एसोसिएटतर्फ शीर्ष तीन टिमभित्र परेपछि मात्रै नेपालले पहिलो पटक ओडीआई मान्यता प्राप्त गरेको थियो ।
त्यसको पाँच वर्षपछि जिम्बाव्वे भ्रमणमा जाँदा भने नेपालले ओडीआई मान्यता कायम राख्न सफल भएको छ ।
२०१८ मा भएको छनोटमा नेपाल जिम्बाव्वेसँग ११६ रनले पराजित भएको थियो । ब्रेन्डन टेलर र सिकन्दर राजाको शतकमा जिम्बाव्वेले पहिले ब्याटिङ गर्दै ३८० रन बनाएको थियो । जवाफमा नेपालले पूरै ५० ओभर खेल्दा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो ।
अमेरिका विरुद्ध नेपाल
२०१९-२३ लिग टु साइकलमा नेपालले अमेरिकासँग ६ खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जितेको थियो भने अमेरिकाले २ खेल जितेको थियो । एक खेल भने बराबरी भएको थियो ।
२०२० फेब्रुअरीमा नेपालमै भएको लिग टु शृंखलामा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । नेपाल पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो ।
२०२१ सेप्टेम्बरमा ओमानमा भएको शृंखलामा भने नेपाल र अमेरिकाले एक-एक खेल जितेका थिए । पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो भने अर्को खेलमा अमेरिका ६ विकेटले विजयी भयो ।
यस्तै २०२२ जुनमा अमेरिकामै भएको शृंखलामा नेपालले पहिलो खेल रोमाञ्चक बराबरी गरेको थियो । दोस्रो खेलमा भने नेपाल ३९ रनले पराजित भएको थियो ।
कूल खेल : ६
नेपाल विजयी : ३
अमेरिका विजयी : २
बराबरी : १
वेष्ट इन्डिज विरुद्ध नेपाल
सन् १९७५ र १९७९ का दुई विश्वकप जितेको वेष्ट इन्डिज त्यसबेला सबैभन्दा बलियो टिम थियो । पछिल्लो समय वेष्ट इन्डिज उस्तै टिम रहेन ।
दुई पटक नै टी-२० विश्वकप जिते पनि ५० ओभरको विश्वकप भने उसले तेस्रो पटक जित्न सकेको छैन ।
वेष्ट इन्डिजले २०१८ मा पनि विश्वकप छनोट खेल्नुपरेको थियो र शीर्ष दुईमा रहेर विश्वकप पुगेको थियो । नेपालले वेष्ट इन्डिजसँग पहिलो पटक ओडीआई खेल खेल्दैछ ।
नेदरल्याण्ड्स विरुद्ध नेपाल
नेपालले सन् २०१८ मार्चमा ओडीआई मान्यता प्राप्त गरेपछि त्यही वर्ष अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो ओडीआई शृंखला खेलेको थियो ।
नेदरल्याण्ड्सकै घरेलु मैदानमा खेलिएको उक्त दुई खेलको ऐतिहासिक शृंखला १-१ को बराबरीमा टुङ्गिएको थियो । नेपालको लागि यो शृंखला धेरै अर्थमा ऐतिहासिक बन्यो । भेट्रान शक्ति गौचनले डच टोलीसँग पहिलो ओडीआई खेलेर सन्यास लिए । अन्य धेरै व्यक्तिगत उपलब्धिहरु खेलाडीले प्राप्त गरे ।
पहिलो शृंखलाको पहिलो खेलमै नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो ।
नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमै अलआउट भएको थियो ।
तर दोस्रो खेलमा नेपालले १ रनको रोमाञ्चक जित निकाल्दै ओडीआईमा आफ्नो पहिलो जित दर्ता गर्दै उक्त शृंखला १-१ को बराबरीमा सकाएको थियो ।
नेपालले नेदरल्याण्ड्ससँग त्यसपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि ओडीआईमा भने पहिलो पटक खेल्न लागेको हो ।
कूल खेल : २
नेपाल विजयी : १
नेदरल्याण्ड्स विजयी : १
नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो ।